सत्तागठवन्धनको बैठक : सिट संख्यातिर प्रवेश नै नगरी सकियो, सिटौला संयोजक




काठमाडौं– पाँच दलीय सत्ता गठबन्धनको कार्यदलको बैठक सिट संख्या बिभाजनतिर प्रवेश नै नगरी सकिएको छ । बैठकमा चुनावी तालमेलमात्र नभएर साझा घोषणा पत्र समेत तयार पार्ने समेत छलफल भएको थियो ।

बैठकले कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन गरेको छ । गठबन्धनमा रहेका दलले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको सोमबारको पहिलो बैठकले कांग्रेस पूर्वमहामन्त्री सिटौलालाई संयोजकमा चयन गरेको हो ।

बैठकमा गठबन्धनलाई चुनावी तालमेलका साथै संविधान कार्यान्वयन र जनजीविकाका विषय सम्बोधनमा समेत कार्य गर्नेगरी अघि बढाउनुपर्ने सम्बन्धमा सकारात्मक छलफल भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले बताए । कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्ष नेताहरुलाई बुझाउनेछ ।

यसअघि बसेको गठबन्धनका शीर्ष नेताको बैठकले पाँचै दलका नेता सम्मिलित ११ सदस्यीय उक्त कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, नेता सिटौला र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की छन् भने माओवादी केन्द्रबाट नेताहरु वर्षमान पुन र देव गुरुङ छन् ।

एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहाय प्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु हिमलाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ९ : ४७ बजे