नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका प्रशिक्षक मनोज प्रभाकरलाई एक वर्षका लागि नियुक्त गरेको छ ।
पूर्वभारतीय अलराउण्डरका साथै रणजी ट्रफी विजेताका प्रशिक्षकसमेत रहनुभएका प्रभाकरलाई आज मुख्य प्रशिक्षक नियुक्त गरिएको क्यानले जनाएको छ । क्यानका अनुसार प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खल्नुभएको छ ।
उहाँले अफगानिस्तानको बलिङ प्रशिक्षकका रूपमा समेत काम गर्नुभएको थियो । यसैगरी उहाँले आफ्नो प्रशिक्षणमा दिल्ली, राजस्थान र युपी क्रिकेट एशोसिएनलाई रणजी ट्रफी जिताउनुभएको थियो । नवनियुक्त प्रशिक्षक प्रभाकरले नेपाली टोलीलाई बलियो बनाउन काम गर्ने बताउनुभयो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
प्रतिक्रिया