परराष्ट्रमन्त्री चीन प्रस्थान

द्धिपक्षीय सम्वन्धमा रहेको ‘आशंका’ हट्ला ?




काठमाडौं– परराष्ट्रमन्त्री डा नारायण खड्का जनवादी गणतन्त्र चीनको भ्रमणमा लागि आज बेइजिङ प्रस्थान गरेका छन् । चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा साउन २४ देखि २६ गतेसम्म (अगष्ट ९ देखि ११) उनले चीनको भ्रमण गर्नेछन् ।


शेरबहादुर देउवा नेतृत्वको सरकारले विदेश सम्वन्ध संचालन सन्तुलन गुमाएको र असंलग्नताको सिद्धान्त विपरितका गतिविधि गरेको आरोप लागेको बेला यो भ्रमण हुन लागेको हो । अमेरिकी सहयोग परियोजन एमसीसी अघि बढाएको तर चीनियाँ परियोजना बीआरआईको कार्यान्वयन फ्रेमवर्क सम्झौता अघि बढाउन चीनले गरेको प्रस्ताव अस्वीकार गरेकाले सरकारमथि प्रश्न उठ्दै आएको छ ।


खड्काले ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । यसअघि विदेशमन्त्री वाङले नेपालको भ्रमण गरेका थिए । त्यसबेला उनले मन्त्री खड्कालाई चीन भ्रमणको निम्ता पनि दिएका थिए । दुवै मन्त्रीहरूले यही साउन २५ गते चीनको चिङ्दाओमा आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।
विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजको आयोजनासमेत गर्नेछन् । मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी साउन २६ गते काठमाडौँ फर्कने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०७९, मंगलबार  ९ : ३८ बजे