निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा नगर्न आग्रह


रासस

२३ कार्तिक २०७९, बुधबार  

0
Shares

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिनुुभएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरुका सङ्घ संस्था र युवा प्रतिनिधिसँग आज आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन उहाँले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरुपमा सम्पन्न गराउन सघाउनुपर्ने भएकाले आचारसंहिताको उल्लघङ्न र निर्देशनको अवज्ञा भएमा उल्लङ्घनकर्तालाई महँगो पर्नसक्ने चेतावनी दिनुभएको हो ।

उहाँले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारवाही हुने स्पष्ट गर्नुभयो । युवालाई सामाजिक सञ्जाल र अन्य माध्यमको उपयोग गरी निर्वाचनको सकारात्मक प्रचारप्रसार र मतदाता शिक्षा दिन आग्रह गर्दै उहाँले आचारसंहिताको उल्लघङ्न पाइएमा जुनसुकै माध्यमबाट उजुरी दिने सकिने अवगत गराउनुभयो । उहाँले निर्वाचनमा जित्नेभन्दा पराजित हुने उम्मेदवारको सङ्ख्या धेरै हुने भएकाले निर्वाचनपछिको राजनीतिक वातावरण धुमिल हुन नदिन र सौहार्दता कायमका लागि पनि युवाले सकारात्मक भूमिका खेल्न सक्ने उल्लेख गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले मतदान केन्द्र सकेसम्म अपाङ्गता मैत्री बनाउन आग्रह गरिएको र त्यसतर्फ आयोग सचेत रहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “मतदाताको विवेकको मत प्रयोग गराउन मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकलाई आयोगले सुम्पिएको विश्वासमा कुठाराघात नहोस्, स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित निर्वाचन गराउने लक्ष्यमा हामी सबैको सहयोग चाहन्छौँ ।”

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार  ३ : ०० बजे