प्रधानमन्त्री र गृहमन्त्रीका पत्नीसहित कांग्रेसबाट यी हुन् ३२ समानुपातिक सांसद




काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाका ३२ समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।

प्रतिनिधिसभाको समानुपातिकमा ३२ सिट पाएको कांग्रेसमा ३ जनामात्र पुरुष पठाएको छ, जसमा विवाद पनि भएको थियो ।संंघीय संसदमा ३३ प्रतिशत महिला अनिवार्य भएकाले कांग्रेसले ३२ मध्ये २९ जना महिलाको नाम पठाउनुपर्ने थियो ।

पुरुषतर्फ भने सबै क्लस्टरको पहिलो नम्बर प्रभावशाली नेता थिए । त्यस अनुसार, खसआर्य पुरुषतर्फ प्रवक्ता प्रकाशशरण महत, आदिवासी जनजातितर्फ पूर्व उपसभापति गोपालमान श्रेष्ठ, मधेसी पुरुषतर्फ अर्का उपसभापति विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियार थिए । यस्तै थारु पुरुषतर्फ योगेन्द्र चौधरी र मुस्लिम पुरुषतर्फ पहिलो नम्बरमै सहमहामन्त्री फरमुल्लाह मन्सुर थिए ।

प्रत्यक्षतर्फ दलित समुदायबाट एक जना पनि उम्मेदवार नबनाएकाले सहमहामन्त्री जीवन परिवार परेका छन् भने बाँकी २ सिटमा सभापति देउवाले प्रकाशशरण महत र विमलेन्द्र निधिलाई छानेका छन् । दुवै देउवा निकट नेता हुन् । गोपालमान श्रेष्ठ भने समानुपातिकमा अटाउन सकेनन् ।

प्रधानमन्त्री र गृहमन्त्री श्रीमति दुवै समानुपातिकमा

महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजु देउवा राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु सांसद भएका छन् । कांग्रेसले खस आर्यबाट अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, मैना रावल परेका छन् ।

आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा शेरचन, अञ्जनी श्रेष्ठको नाम टुंगो लागेको छ । दलितबाट शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक चयन भएका छन् । सीता संस्थापनइतरका हुन् ।

मधेशीमा नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल छानिएका छन् । मुस्लिमबाट जावेदा खातुन जागा, थारुबाट कल्पना चौधरी र बिनाकुमारी थनेत परेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७९, शनिबार  ६ : ३८ बजे