समानुपातिकको सूची सच्याउन भोलिसम्मको समय, आयोगले थाल्यो छानविन



काठमाडौं– निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिक सांसदहरुको सूची सच्याउन सोमबारसम्मको समय दिएको छ । समानुपातिक सिद्धान्त र क्लस्टर अनुसार नमिलेको नाम सच्याएर बुझाउन आयोगले आइतबार र सोमबार दुई दिनको समय दिएको हो ।


दलहरुले आयोगको तालिका अनुसार शनिबार सामानुपातिक तर्फको बन्दसूचीमा उल्लेख भएका नामावली निर्वाचन आयोगमा बुझाएका थिए । बन्दसूचीमा रहेका नामावली भित्रैबाट दलहरुले समानुपातिक सांसदको सूची बुझाउनुपर्छ । दलहरुले शनिबार बुझाएको नामावलीले आयोगले छानबिन गरेर प्रमाणित भएपछि मात्रै मान्यता पाउँछ ।


दलहरुले बुझाएको नामावलीमा आजैबाट आइतबाटै छानबिन सुरु भएको आयोगले जनाएको छ । यदि क्लष्टर नमिलेको भए सच्याएर पुनः पेस गर्न दलहरुलाई आजै पत्राचार गर्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन आयोगका अनुसार, दलहरुले यसअघि बुझाएको समानुपातिक उम्मेदवारहरुको बन्दसूचीभित्रैबाट नाम परे वा नपरेको र महिला, अल्पसंख्यक तथा पिछडिएका वर्गको प्रतिनिधित्व भए नभएको छानबिन गरिने छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १ : ०७ बजे