लिङ्देनले सांसदलाई निर्देशन दिंदै भने — बोलाउनेवित्तिकै दूतावास नधाउनु, रक्सी नखानु



काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारमा जानुपरे कारणसहित जाने तर कसैको पुच्छर बनेर नजाने बताएका छन् । उनले विदेशी दूतावासमा पार्टीको अनुमतिविना नजान र रक्सी नखानसमेत् निर्देशन दिए ।

पार्टी केन्द्रीय सचिवालयले सोमवार आयोजना गरेको कार्यक्रममा उनले मन्त्री खान र सरकारमा जान हतार नभएको बताएका हुन् । उनले भने, ‘हामी मन्त्री खानको लागि कसैको घर धाउँदैनौँ । कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ । हामीले सरकारमा गएर, नगएर पनि अरु कसैलाई समर्थन गर्नुर्पयो भने कारणसहित गर्छौं । कारणसहित जान्छौँ । त्यसमा तपाईहरु सबैलाई ढुक्क रहन आग्रह गर्छु ।’

नवनिर्वाचित सांसदहरुलाई बधाई दिन आयोजित कार्यक्रममा उनले तर सरकार नजाने भनेर कसम भने नखाएको बताए । आफ्ना मान्यता स्थापित गर्न र एजेण्डा पुरा गर्न सरकारमा जान सक्ने संकेत उनको थियो । ‘नेतृत्वले गल्ती गर्छ कि, राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि भन्ने चिन्ता लिनुपर्दैन । हामी सोची, विचारी निर्णय गर्छौ’ उनले भने । पार्टीले अझै धेरै मत ल्याउनुपर्ने भन्दै प्राप्त मत परिणामबाट आफू सन्तुष्ट नभएको उनले बताए । ‘यो परिणामबाट म खुशी छैन । मैले परिकल्पना गरेको परिणाम यो होइन । मैले यतिको मात्रै अपेक्षा गरेको थिइनँ । मैले नैतिक रुपमा म अध्यक्षबाट राजीनामा दिएँ भनेर हालिदिउँ कि जस्तो लागेको थियो । यति सिटको राप्रपा कल्पना गरेको थिइनँ’ उनले भने ।

अध्यक्ष लिङ्देनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दूतावासले कार्यक्रममा बोलाएमा अनुमति विना नजान निर्देशन दिए । दूतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उनले त्यस्तो नगर्न र आफ्नो मर्यादामा बस्न सांसदहरुलाई निर्देशन दिए ।
‘तपाईहरुलाई कहिलेकाहीँ अन्तर्वार्तामा बोलाउँछन् । कहिले कुनै विदेशी दूतावासहरुले कार्डहरु पठाइराख्छ । ए मलाई फलाना दूतावासले बोलाएको छ भनेर खुरुर कुदेर गएर त्यहाँ रक्सी खानेले रक्सी खाने मासु खान पाउनेले मासु खान कुदिहाल्नु हुन्न’ उनले भने ।

प्रकाशित मिति : ४ पुस २०७९, सोमबार  ५ : ०५ बजे