प्रधानमन्त्री दाहाल–अध्यक्ष ओली वार्ता, जसपा र समाजवादीलाई सरकारमा ल्याउनेवारे छलफल



काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विच साढे दुई घण्टा लामो बार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा भएको वार्तामा सरकारको साझा न्युनमत कार्यक्रम, सरकारमा सहभागि दलहरुका लागि मन्त्रालय विभाजनलगायतका बिषयमा छलफल भएको थियो । वैठकपछि अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँग समसामयिक विषयमा छलफल भएको बताएका थिए ।

ओली यसअघि संसद् विघटन गर्नु अघिल्लो दिन २०७७ पुस ४ गते साँझ खुमलटार पुगेका थिए । त्यसबेला ओलीले १९ पेज लामो आरोपपत्र फिर्ता लिन प्रचण्डलाई आग्रह गरेका थिए । प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्डबीच दूरी बढेको थियो ।
सरकार पहिलो चरणमा गरेको जनतालाई सेवा प्रभाव र सुशासन सन्दर्भमा गरेको निर्णयलाई कार्यान्वयन गर्ने विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्ले बताए । भोलि फेरि बालुवाटारमा सत्ता साझेदारी दलको शीर्ष नेताहरुबीच छलफल हुने उनले बताए ।

ओलीसँग वैठक गर्नुअघि प्रधानमन्त्री दाहालले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए । आफूले सरकारमा सहभागि हुन गरेको आग्रहलाई दुवै नेताले सकारात्मक रुपमा लिएको दाहालले ओलीलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ४ : ३६ बजे