प्रदेश नं १ को मुख्यमन्त्रीमा कार्की नियुक्त, सपथ सोमवार २ बजे


रासस

२४ पुस २०७९, आइतबार  

0
Shares

प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले नेकपा (एमाले) प्रदेश नं १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई आज साँझ मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा कार्कीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त गर्नुभएको हो । यसअघि प्रदेश प्रमुख खापुङसमक्ष एमाले संसदीय दलका नेता कार्कीले प्रदेश १ प्रदेशसभाको कूल सङ्ख्याको बहुमत सङ्ख्याको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्तिका लागि पत्र बुझाउनुभएको थियो । एमालेका ४०, नेकपा (माओवादी केन्द्र) का १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का छ र जनता समाजवादी पार्टी (जसपा) का एक गरी ६० सदस्यको हस्ताक्षरको पत्र बुझाइएको छ ।

प्रदेश प्रमुख खापुङलाई एमाले संसदीय दलका नेता कार्की, माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्गवो, राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जसपाका निर्मला लिम्बूको हस्ताक्षरसहित उक्त पत्र बुझाइएको थियो । प्र्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री कार्कीलाई यही पुस २५ सोमबार दिउँसो २ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ४६ बजे