आज १ बजे मन्त्रिपरिषद्लाई पूर्णता, अपरान्ह सर्वदलीय बैठक



काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरषद् विस्तार गर्ने भएका छन् । सत्ता गठबन्धनमा शक्ति बाँडफाँडबारे सोमबार सहमति जुटेसँगै आज मन्त्रीमण्डल विस्तार हुने भएको हो ।

सोमबार भएको सहमति अनुसार, गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ । एमालेले अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका मन्त्रालय पाउने सहमति भएको हो । एमालेले मन्त्रीहरुको नाम अहिले विहान टुङयाउँदैछ ।

माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ । उसले भौतक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला मन्त्रालय पाउने सहमति भएको छ । प्रधानमन्त्री दाहालले माओवादीबाट मन्त्री बन्नेहरुको सूची तयार पार्दैछन् ।
राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ । राप्रपाको तर्फबाट सरकारको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनले नै गर्नेछन् । उनी उपप्रधानमन्त्री तथा उर्जामन्त्री बन्दैछन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहमति भएको हो । रास्वपाले उपसभामुखसमेत पाउने सहमति भएको बताएको छ ।
जसपालाई २ वटा मन्त्रालय प्रस्ताव गरिएकोमा स्वीकार गरेको छैन । जसपाले उपराष्ट्रपतिमा दावी गर्दै आएको छ । उपराष्ट्रपतिमा माओवादीको पनि दावी छ ।

मन्त्रिपरिषद् विस्तारपछि आजै अपरान्ह प्रधानमन्त्री दाहालले सर्वदलीय बैठक आब्हान गरेका छन् । मन्त्रीहरुको सपथ १ बजे तय भएको उपपप्रधानमन्त्री रवि लामिछानेले बताएका छन् । त्यसपछि संसदको सबैभन्दा ठूलो दल कांग्रेससहितका दलको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा राखिएको छ ।

राप्रपाले ऊर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रलाय, रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय पाएको छ । त्यस्तै जनमत पार्टीले यद्योग वााणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।

दिउँसो १ बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । त्यसअघि नै जसपा र नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा सहभागी गराउन छलफल चलिरहेको छ । यदि यी दुई पार्टी सरकारमा आउन राजी भएमा भागबण्डामा केही तलमाथि हुने बुझिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ९ : ५१ बजे