रवि लामिछानेको नागरिकता विवाद मुद्दामा आजबाट अन्तिम सुनुवाई



काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा आजबाट अन्तिम सुनुवाइ सुरु हुँदैछ ।
मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुनेछ । संवैधानिक इजलासले पेशी सार्न नमिल्ने र अग्राधिकारसमेत दिएकाले लामिछानेविरुद्धको मुद्दाको पूर्ण सुनुवाइ हुने भएको हो ।
लामिछानेमाथि नेपाली नागरिकता त्याँग गरेर अमेरिकी नागरिकता लिएपछि पुन नेपाली नागरिकता प्रयोग गर्दा सम्वन्धित निकायलाई जानकारी नगराएको र दोहोरो पासपोर्ट प्रयोग गरेको आरोप छ ।
उनले अमेरिकाको नागरिकता भएकै समयमा नेपाली नागरिकता प्रयोग गरेर पासपोर्ट बनाएको भन्दै लामिछानेलाई सांसदका रूपमा शपथ ग्रहण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
पुस २२ गते भएको उक्त सुनुवाइपछि कामु प्रधान न्यायाधीश हरिकृष्ण कार्कीसहित ५ जना वरिष्ठतम न्यायाधीशको इजलासले दुवै पक्षबाट पेशी सार्न नमिल्ने र अग्राधिकारसहित माघ ११ गतेका लागि पूर्ण सुनुवाइको पेशी तोकिएको थियो ।
रिटमाथिको प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश दिन अस्वीकार गरिएको थियो । तर त्यस प्रयोजनका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो । संवैधानिक इजलासले बहस सुनेपछि अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
लामिछानेको नागरिकता सम्बन्धी विवादमा अहिले काठमाडौं प्रहरी परिसरले पनि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ९ : ५० बजे