अमेरिकी उपमन्त्री नुल्यान्ड माघ १५ मा नेपाल आउँदै



संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने भ्रमणका लागि यही माघ १५ गते नेपालमा आउँदै हुनुहुन्छ ।

भ्रमणको क्रममा उहाँले नेपालमा उच्च राजनीतिक भेटवार्ता गर्नुका साथै विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन समेत गर्नुहुने बताइको छ । उहाँले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्रीका रूपमा शपथ लिनुभएको हो । त्यसअघि उहाँ वासिङ्टन डीसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँ ब्रुकिङ्स इन्स्टिच्युसनमा गैर–आवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिकी विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसक्नुभएको छ । उहाँ अमेरिकी राष्ट्रपति ओबामा र विदेश मन्त्री केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेश मन्त्रीका रूपमा सेवारत हुनुहुन्थ्यो ।

उहाँ अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता हुनुहुन्थ्यो भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत हुनुहुन्थ्यो । उहाँले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै अमेरिका बाहिर रसिया, चीन र मङ्गोलियासहित वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहोदामा रही काम गरिसक्नुभएको छ । उहाँले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गर्नुभएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  ९ : २४ बजे