सभामुखसँग चिनियाँ राजदूतको भेट



सभामुख देवराज घिमिरे र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित सभामुखको कार्यालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय गतिविधि आदानप्रदानलगायत विषयमा छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सो अवसरमा ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको जनाउँदै सभामुख घिमिरेले कोभिड–१९ को महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पु¥याएको सहयोगको प्रशंसा गर्नुभयो ।

भूकम्पपछिको पुनःनिर्माणमा चीनबाट भएको सहयोग पनि स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले अब दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । चिनियाँ राजदूत सोङले सभामुख घिमिरेको कार्यकालको सफलताका लागि शुभकामना दिनुभयो । सो अवसरमा चिनियाँ राजदूतले चीनको राष्टिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुले सभामुख घिमिरेलाई पठाउनु भएको शुभकामना सन्देश हस्तान्तरण गर्नुभएको थियो ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  २ : ४७ बजे