सुदुरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै, नपाए पद जाने



काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत आज लिदैँछन ।

सुदूरपश्चिम संसद् सचिवालयका अनुसार आज दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने समय तोकिएको छ । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री रावललाई विश्वासको मत नदिने अडान कायम राखे पछि हिजो बस्ने भनिएको प्रदेश सभा बैठक स्थगित भएको थियो । पुष २७ मा रावल मुख्यमन्त्री नियुक्त भएका थिए । एक महिनासम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएकाले आज विश्वासको मत लिन नसकेमा उनको पद जान्छ ।

५३ जना प्रदेशसभा सदस्य रहेको प्रदेशमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन रावल मुख्यमन्त्री नियुक्त भएका थिए । तर नागरिक उन्मुक्तिले विश्वासको मत नदिएपछि उनको सरकार संकटमा परेको हो । नागरिक उन्मुक्तिको प्रदेशमा ७ जना सांसद रहेका छन् । नागरिक उन्मुक्तिले मत नदिएमा रावल नेतृत्वको सरकार बाहिरिने छ भने प्रदेश संसद् सचिवालयले नयाँ मुख्यमन्त्री चयनका लागि कारबाही अघि बढाउने छ ।

पार्टीका संस्थापक रेशमलाल चौधरीको रिहाईको माग गर्दै आएको उक्त पार्टीले सांसद अरुण चौधरीलाई पक्राउ गरेपछि थप आक्रोस व्यक्त गरिरहेको छ । बन्दीहरूको रिहाइ, झुटा मुद्दा फिर्तालगायतका माग सम्बोधन हुने विश्वासिलो आधार नभएकाले मुख्यमन्त्री रावललाई विश्वासको मत दिन नसकिने नागरिक उन्मुक्तिको भनाई छ ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ९ : ४८ बजे