राष्ट्रपतिवारे पार्टी धारणा तय गर्न माओवादीको बैठक बस्दै



काठमाडौं– सत्तारुढ घटक नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अपरान्ह ४ बजे पार्टी मुख्यालयमा बस्दैछ । माओवादी स्थायी कमिटी सदस्य मातृकाप्रसाद यादवले बैठक बस्न लागेको जानकारी दिएका हुन् ।

बैठक राष्ट्रपति निर्वाचनलगायतका बिषयमा छलफल हुने जनाइएको छ । सरकार गठनताका भएको सहमति विपरित माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको बिषय उठाएको छ । एमालेबाट राष्ट्रपति हुने सहमति त्यसबेला भएको थियो ।
राष्ट्रपतिबारे सहमति विपरित प्रधानमन्त्रीका अभिव्यक्ति आउन थालेपछि एमाले संशकित छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेस त्यसको लाभ लिन र गठटवन्धन भत्काउन प्रयासरत् छ । राष्ट्रपतिमा सहयोग माग्दै आइतवार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौलालगायतका कांग्रेसका शीर्ष नेता बालुवाटार पुगेका थिए ।

बैठकमा प्रधानमन्त्रीले कांग्रेसलाई समर्थन गर्ने वा नगर्ने भन्ने भन्दा पनि राष्ट्रिय सहमतिमै राष्ट्रपति निर्वाचित् होस भन्ने आफ्नो चाहना रहेको बताएका थिए । त्यसबेला प्रचण्डले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने बताएका थिए । फागुन २५ मा राष्ट्रपति निर्वाचन हुँदैछ, त्यसका लागि १३ गते मनोनयन दर्ता तोकिएको छ ।

यही मेसोमा बोलाइएको माओवादी पदाधिकारी बैठकलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

एसडी मुनीले देखेका नेपालका चार सम्भावित राष्ट्रपतिका उम्मेद्वार
काठमाडौं– भारतीय ‘विवादास्पद’ बुद्धिजीवी एसडी मुनीले नेपालमा राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति खोज्नुपर्ने माग जायज भएको बताउँदै त्यसका लागि चार जना ‘योग्य’ रहेको उल्लेख गरेका छन् ।
नेपालको आन्तरिक मामिलामा बेलाबेलामा विवादास्पद टिप्पणी गर्ने मुनीले राष्ट्रपतिको निर्वाचन नजिकिंदै गर्दा त्यसमा आफ्नो धारणा राखेका हुन् । उनले ट्वीटमार्फत् नेपालमा राष्ट्रपतिका लागि देवेन्द्रराज पाण्डे, प्राध्यापक लोकराज बराल, दमननाथ ढुंगाना र अनुराधा कोइरालाको नाम लिएका हुन् । सोमवार बिहान उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालमा सर्वसम्मतीबाट नयाँ राष्ट्रपतिको माग जायज छ ।’
पूर्वसहमति विपरित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति निर्वाचित गर्ने धारणा राख्दैआएका छन् । एमाले र माओवादीबीच पुष १० मा भएको सहमति अनुसार, राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादीबाट निर्वाचित हुनुपर्छ । माओवादीसँग निकट सम्वन्ध रहेका भनिएका मुनी नेपाल मामिलामा चासो राख्ने गर्छन् तर उनले भारतीय संस्थापनको प्रतिनिधित्व भने गर्दैनन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ११ : २२ बजे