जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जालाई



पाल्पाको रामपुरमा आयोजना भएको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिबल सङ्घ स्याङ्जाले जितेको छ ।

जिल्ला भलिबल सङ्घ नवलपुरलाई सोझो सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको छ । स्याङ्जाले लगातार पहिलो, दोस्रो र तेस्रो सेट २५÷२०, २५÷१४ र २५÷१५ अङ्कसहित जित्न सफल भएको हो । नवलपुर उपविजेता बनेको छ ।

लुम्बिनी र गण्डकी प्रदेशका सात जिल्लाको सहभागिता रहेको प्रतियोगितामा आयोजक जिल्ला भलिबल सङ्घ पाल्पाले तृतीय स्थान ओगट्न सफल भएको छ । जिल्ला भलिबल सङ्घ बाग्लुङलाई तीन÷एक सेटले पराजित गर्दै पाल्पाले तृतीय उपाधि हात पारेको हो ।

तेस्रो स्थान छनोट खेलमा जिल्ला भलिबल सङ्घ पाल्पाले पहिलो, दोस्रो र चौथो सेट २५÷१७, २५÷१८, २५÷१६ अङ्कसहित हात पारेको थियो भने तेस्रो सेट २५÷२२ अङ्कसहित बाग्लुङले हात पारेको थियो । प्रतियोगिताको उपाधि विजेताले नगद रु एक लाख ५१ हजार एक सय ११, उपविजेताले रु एक लाख एक हजार एक सय ११ र तृतीय हुनेले रु ५१ हजार एक सय ११ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही रु पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल सङ्घको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य सङ्घको मुख्य प्रायोजकमा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी स्याङ्जाका सञ्जु विक्रम शाही, वेष्ट ब्लकर नवलपुरका हिमाल सुनारी, वेष्ट स्पाइकर स्याङ्जाका हरि पाण्डे, वेष्ट सेटर स्याङ्जाका सुदीप राना, वेष्ट सर्भर पाल्पाका आशिष श्रेष्ठ र वेष्ट डिफेन्डर स्याङ्जाका राजन दर्लामी हुनुभएको छ । प्रतियोगिता गत फागुन ३ गतेदेखि रामपुर महोत्सवस्थलमा सुरु गरिएको हो । खेलकुदको विकासका लागि यसअघिको महोत्सवमा पनि अन्तर्राष्ट्रियस्तरको नेपाल र भारतबीच (इन्डो नेपाल) भलिबल खेल आयोजना गरिएको थियो ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले खेलले समाज र ठाउँलाई चिनाउनुका साथै खेलाडीको व्यक्तित्व विकासमा पनि सहयोग गर्ने बताउनुभयो । रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले उद्योगी तथा व्यवसायीसँगै खेलकुद क्षेत्रको प्रवद्र्धनका लागि मेलामा प्रतियोगिता सञ्चालन गरिएको बताउनुभएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : ५९ बजे