सकियो भाकपा (माले) को एघारौं महाधिवेशन

भारतका कम्युनिष्ट पार्टीलाई एमाले नेता पोखरेलको सुझाव– समाजवाद स्थापनाका लागि सहकार्य गर्नुस्



काठमाडौं– भारतीय कम्युनिष्ट पार्टी–माक्र्सवादी लेनिनवादी (भाकपा माले) को एघारौं राष्ट्रिय महाधिवेशन विहारको राजधानी पटनामा सोमबार सकिएको छ ।

‘स्वाधिनता, समानता र ऐक्यवद्धता’ को नारासहित पाँच दिनसम्म चलेको महाधिवेशनमा भारतका विभिन्न प्रान्तका करिव १७ सय महाधिवेशन प्रतिनिधि सहभागि भएका थिए भने नेपाललगायत छिमेकी र अन्य मित्रराष्ट्रका कम्युनिष्ट तथा समाजवादी पार्टीका तर्फबाट ऐक्यवद्धता जनाइएको थियो ।

पटनास्थित गान्धी मैदानमा फागुन ४ मा भएको उद्घाटन समारोहलाई भारतीय कम्युनिष्ट पार्टीका नेताहरुले सवोधन गरेका थिए भने उक्त समारोहको बिशिष्ट अथितिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल हुनुहुन्थ्यो । अन्य विदेशी पाहुनाले भने फागुन ५ को बन्द सत्रलाई संवोधन गरेका थिए ।

उद्घाटन समारोहलाई संवोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले नेपाल र भारतबीच असल सम्वन्ध रहँदै आएको उल्लेख गर्दै पारस्परिक लाभ, हित र जितका लागि दुवै देश एकसाथ अघि बढ्नुपर्ने बताउनुभयो । भारतको स्वतन्त्रता संग्राममा मनमोहन अधिकारीलगायतका वामपन्थी नेता सहभागि भएको र नेपालको प्रजातन्त्रिक आन्दोलनमा समेत भारतीय नेताहरुले सहभागिता जनाएको स्मरण गर्दै पोखरेलले साझा विकास र समृद्धिका लागि दुवै देशबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।


कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन विगतमा भएको सहकार्य सम्झदै उहाँले साझा अनुभव र समान विचारधाराले एकअर्काको आन्दोलनलाई सफल बनाउन सहयोग पुगेको वताउनुभयो । उहाँले नेपालमा कम्युनिष्ट पार्टीहरुको लोकप्रियता बढेको र एमालेको सहयोगमा कम्युनिष्ट नेतृत्वको सरकार निर्माण भएको जानकारी गराउँदै विगतका पाठबाट सिकेर अघि बढ्दा आन्दोलन वलियो बन्ने बताउनुभयो ।

नेपालमा नेकपा एमाले लोकप्रिय मतमा सबैभन्दा ठूलो पार्टी भएको तर संसदीय सिटमा थोरैले पछि परेको भन्दै घरेलु र वाह्य प्रतिकूलताका वावजुद एमालेले पाएका जनमतले नेपाली जनता एमालेमा रहेको प्रमाणित गरेको बताउनुभयो । आफ्नो पार्टीको उपलब्धी ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै अघि बढ्ने नीतिबाट सम्भव भएको उहाँले प्रष्ट पानुर्भयो । ‘एमालेको यो जनमत जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनता (जवज) को सिद्धान्त र कार्यक्रमबाट सम्भव भएको हो । त्यस्तै, समृद्ध नेपाल र सुखी नेपालीको हाम्रो राष्ट्रिय आँकाक्षालाई जनताले मायाँ गरेका कारण पाएको हो’ उहाँले भन्नुभयो ।
उहाँले भाकपा मालेसहित भारतका सबै वामपन्थी पार्टीहरुलाई समाजवाद स्थापनाको साझा लक्ष्यलाई प्राथमिकतामा राखी सहकार्य गर्दै अघि बढ्न सुझाव पनि दिनुभयो । असमान आर्थिक, राजनीतिक र सामाजिक व्यवस्थाको अन्त्य गर्दै समतामूलक समाज निर्माणमा लाग्नुपर्नेमा उहाँको जोड थियो ।

उद्घाटन मन्तब्य अघि वरिष्ठ उपाध्यक्ष पोखरेल र भाकपा मालेका महासचिव दिपांकर भट्टाचार्यबीच दुई पार्टी र दुई देशबीचको सम्वन्धको वारेमा छलफल भएको थियो । पोखरेललाई रक्सौलमा स्थानीय विधायक तथा भाकपा मालेका केन्द्रीय सदस्य बिरेन्द्र गुप्ता नेतृत्वको टोलीले स्वागत गरेको थियो । महाधिवेशनका क्रममा उहाँले भारतीय बिभिन्न कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग द्धिपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँले भारतीय चर्चित लेखिका तथा मानवअधिकारकर्मी अरुन्धती रोयसँग पनि भलाकुसारी गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १२ : २५ बजे