प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिसबारे छिट्टै निष्कर्षमा पुग्छौँ : प्रधानमन्त्री



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने महत्त्वपूर्ण विषय भएको र यसलाई छलफल गरेर छिट्टै निष्र्कमा पु¥याउने बताउनुभएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा आज नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वको गएको टोलीसँग उहाँले विषय गम्भीर भएको हुनाले चाँडै छलफल गरेर निष्कर्षमा पुग्ने बताउनुभयो । बारका अध्यक्ष घिमिरले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीसमक्ष माग गर्नुभएको थियो ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र उच्च अदालतमा न्यायाधीश खाली हुँदा न्याय सम्पादनमा असर परेको हुनाले यस प्रक्रियालाई चाँडै निष्कर्षमा पु¥याउन उहाँले माग गर्नुभयो । अध्यक्ष घिमिरेले कायममुकायम (कामु) को भरमा न्यायालय चलेको एक वर्ष बितिसकेको हुनाले तत्काल प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने माग राखिएको बताउनुभयो ।

विसं २०७८ फागुन १ गतेदेखि हालसम्म सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीशले काम गरिरहनुभएको छ । सर्वोच्च अदालतमा पाँच न्यायाधीशको पद खाली छ । त्यस्तै, उच्चमा पनि धेरै ठाउँमा कामुकै भरमा चलेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ४० बजे