यू–१९ विश्वकप एसिया छनोट : नेपाल लगातार तेस्रो खेलमा विजयी


रासस

१५ फाल्गुन २०७९, सोमबार  

76
Shares

आइसिसी यू–१९ पुरुष विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्र छनोटमा नेपाल लगातार तेस्रो खेलमा विजयी भएको छ ।

नेपालले आज भएको तेस्रो खेलमा हङकङलाई नौ विकेटले पराजित गरेको हो । युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी प्रतियोगितामा हङकङले पहिला ब्याटिङ गर्दै ४६ दशमलव तीन ओभरमा सबै खेलाडी गुमाउँदै नेपालसामु जितका लागि एक सय २१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले विजयी लक्ष्य २२ दशमलव एक ओभरमा एक विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि आकाश त्रिपाठीले अविजित ६४ रनको योगदान दिए । उनले ७२ बल खेल्दै चार छक्का र पाँच चौका हाने । यस्तै प्रतियोगितामा आजै डेब्यू गरेका उत्तम थापामगरले अविजित ३९ तथा अर्जुन कुमालले १६ रन बनाए । बलिङतर्फ हङकङका ड्यानियल मोर्गन मापले एक विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने क्रममा हङकङका लागि पर्थ भागवतले ३६ रन बनाए । उनले ९३ बल खेल्ने क्रममा चार चौका प्रहार गरे । मोहम्मद जाहिरले २९ तथा अहान त्रिवेदीले ११ रन बनाए । अन्य ब्याटरको खेल प्रदर्शन उल्लेख्य रहेन ।

बलिङतर्फ नेपालका लागि हेमन्त धामीले तीन, सुवास भण्डारी र आकाश चन्दले दुई दुई तथा दीपेश कँडेलले एक विकेट लिए । नेपालले यसअघि पहिलो खेलमा सिङ्गापुरलाई ९६ रन तथा दोस्रो खेलमा कुवेतलाई दुई सय ४३ रनले पराजित गरेको थियो । नेपालले अब मङ्गलबार मलेसियासित तथा बिहीबार युएईसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित, आयोजक युएई, सिङ्गापुर, कुवेत, हङकङ र मलेसिया सहभागी छन् । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२४ मा श्रीलङ्कामा हुने यू–१९ विश्वकप क्रिकेट खेल्न पाउनेछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ६ : ३४ बजे