“सबैका लागि समग्र स्वास्थ्योपचार” नाराका साथ नेपालमा अन्तर्राष्ट्रिय आयुर्वेद महासभा




काठमाडौँ । ‘सबैका लागि समग्र स्वास्थ्योपचार’ भन्ने नाराका साथ नेपालमा सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभा आयोजना गरिने भएको छ ।

यही फागुन १९ गते शुक्रबारदेखि सुरु हुने महासभा आइतबारसम्म सञ्चालन हुने आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । नेपाल महर्षि वैदिक फाउण्डेशन र नेपाल आयुर्वेद चिकित्सक सङ्घले संयुक्तरूपमा आयोजना गर्ने महासभामा युरोप, भारत र नेपालका तीन सय विज्ञको सहभागिता रहने जनाइएको छ । महासभाले आयुर्वेदलाई जनजागरणका रूपमा विकास गरी जीवन विज्ञानका रूपमा ग्रहण गर्न सहयोग मिल्ने विश्वास लिइएको छ ।

कार्यक्रममा फाउण्डेशनको अध्यक्षसमेत रहेका पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटाले चार उपवेदमध्येको एक आयुर्वेद स्वास्थ्यका विषयमा पूर्ण ज्ञान भएकाले यसको प्रवर्द्धनका लागि नेपालमा कार्यक्रम आयोजना गरिएको जानकारी दिए । महर्षि महेश योगीले वेदका ४० शाखाबाट मुख्य–मुख्य विषय समेटी १२ क्षेत्रमा गरेको काममध्ये एक आयुर्वेद भएकाले यसका बारेमा जागरण गर्न कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

फाउण्डेशनले वैदिक शिक्षा, कृषि, वास्तुलगायत विषयमा पनि काम गरिरहेको जनाइएको छ । सङ्घका अध्यक्ष डा श्यामबाबु यादवले भारतमा आयुर्वेद हेर्ने छुट्टै मन्त्रालय भएको उल्लेख गर्दै नेपालमा प्राथमिकतामा नपरेको जडीबुटीमा आधारित औषधि विज्ञानलाई प्रवर्द्धन गर्न महासभाले सहयोग गर्ने बताए । सङ्घले सातै प्रदेशमा आयुर्वेद अस्पताल बनाउने मागलाई नीतिगतरूपमा व्यवस्था गर्न सफल भए पनि कार्यान्वयन हुन नसकेको उनले जानकारी गराए ।

यो सम्मेलन एसिया महादेशमै पहिलोपटक नेपालमा आयोजना गर्न लागिएको हो । सम्मेलनको शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सन् २०१५ मा नेदरल्याण्ड्सको रोयतमोल्ड, सन् २०१७ मा संयुक्त अधिराज्य बेलायतको लण्डन, सन् २०१८ मै तीनवटा महासभा नेदरल्याण्ड्सका विभिन्न सहरमा आयोजना गरिएको थियो । यसैगरी सन् २०१८ मै सोल्भानियामा महासभा आयोजना गरिएको थियो ।

महासभाका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भारतको आयुष मन्त्रालयले पनि सहयोग गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । कार्यक्रमको प्रमुख आयोजक नेदरल्याण्ड्सको अन्तर्राष्ट्रिय महर्षि आयुर्वेद फाउण्डेशन, अल इण्डिया आयुर्वेद कङ्ग्रेस दिल्ली र अन्तर्राष्ट्रिय एकेडेमी अफ आयुर्वेद पुने रहेका छन् । अन्तर्राष्ट्रिय आयुर्वेद महासभामार्फत एक्काइसौँ शताब्दीका जनतालाई परम्परागत आयुर्वेद सेवा प्रदान गर्न विश्वव्यापी जागरण गर्ने कार्यक्रम रहेको छ ।

आयुर्वेदमा विश्वव्यापी पुनःउत्थान महाअभियान सञ्चालन गर्ने उद्देश्यले आयोजित महासभामा ९० वटा प्रस्तुति रहने जनाइएको छ । कार्यक्रमले नेपालमा आयुर्वेद पुनःस्थापित गर्न सहयोग गर्ने विश्वास लिएको आयोजक संस्थाको भनाइ छ ।
रासस

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ५ : ४४ बजे