ब्यूनस आयर्स । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् ।
मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोकोस्थित युनिको सुपरमार्केटमा बिहीबार एक दर्जन गोली प्रहार गरेका छन् । आक्रमणकारीले छाडेको लिखित सन्देशमा मेस्सीलाई आक्रमणको धम्की दिइएको हो । ब्यूनस आयर्सबाट तीन सय किलोमिटर उत्तरपश्चिममा रोजारियो शहर अवस्थित छ ।
मेस्सीका ससुरालीको पसल बाहिर टाँसिएको सन्देशमा “मेस्सी, हामी तिमीलाई पर्खिरहेका छौँ, यहाँको मेयर जाभकिन पनि लागूऔषध तस्कर हो, उसले तिम्रो ख्याल गर्दैन,” भनिएको छ ।
रोजारियोका शहरका प्रमुख पाब्लो जाभकिनले आक्रमण गरिएको पसलको अवलोकन गरेर लागुऔषध सम्बन्धी हिंसामा भएको वृद्धिलाई रोक्न असफल भएको भन्दै सङ्घीय अधिकारीहरूको आलोचना गरेका छन् ।
मेस्सीलाई धेरै अर्जेन्टिनीले महान् फुटबल खेलाडीका रूपमा सम्मान गर्छन् । छत्तीस वर्षपछि उनको नेतृत्वमा अर्टेन्टिनी राष्ट्रिय टोलीले गत डिसेम्बरमा विश्वकप प्रतियोगिता जितेपछि उनीप्रतिको सम्मान अझ बढेको छ । मेस्सी हाल पेरिस सेन्ट–जर्मेनबाट खेलिरहेका छन् । धेरै समय उनी विदेशमा नै बिताउँछन् । यद्यपि उनी रोजारियो पनि जाने गर्छन् । फ्युनेसको उपनगरमा उनका घर छ । फ्रान्सेली टोलीले बिहीबार बिहान मेस्सीको प्रशिक्षणको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेको थियो ।
रोजारियोका अभियोजक फेडेरिको रेबोलाले सुरक्षा क्यामेरा फुटेजको समीक्षा सुरक्षा अधिकारीहरूले गरिरहेका तथा प्रारम्भिक अनुसन्धान प्रारम्भ भएको बताएका छन् । मेस्सीका ससुरालीले पनि यस प्रकारको धम्की पहिलोपटक पाएको बताएका छन् ।
सान्ता फे प्रान्तका न्याय मन्त्री सेलिया एरेनाले समाजमा आतङ्क मच्चाउन माफिया समूहले उक्त आक्रमण गरेको बताउनुभएको छ । उहाँले यो आक्रमणको उद्देश्य आपराधिक हिंसाविरुद्ध लडिरहेकाहरूलाई निरुत्साहित गर्न भएको सामाजिक सञ्जालमा लेख्नुभएको छ ।
रासस/एपी
प्रतिक्रिया