नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको शालिक अनावरण



काठमाडौँ । नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको शालिक अनावरण गरिएको छ ।

बस्न्यातले वीरगति प्राप्त गरेको शङ्खरापुर नगरपालिका–३ स्थित जहरसिंहपौवामा निर्माण भएको शालिकको आज प्रधानसेनापति प्रभुराम शर्माले अनावरण गरेका हुन् । सो स्थानमा उनको पूर्णकदको शालिकसँगै एकीकरण सङ्ग्रहालय र उद्यानसमेत निर्माण गर्ने योजना रहेको छ । शालिक, सङ्ग्रहालय र उद्यान निर्माणका लागि वडा कार्यालय साँढे दुई रोपनी जग्गा उपलब्ध गराएको छ । शालिक आज अनावरण गरिए पनि सङ्ग्रहालय र उद्यानको काम भने बाँकी छ ।

शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले बस्न्यातको २७५औँ पुण्यतिथिमा प्रतिमा अनावरण गर्न पाउँदा खुसी लागेको बताए । नेपाल एकीकरण अभियानको एक स्थलका रुपमा जहरसिंह पौवा रहेको उल्लेख गर्दै रणनीतिकरुपमा यो महत्वपूर्णस्थान भएको उनले जानकारी गराए ।

“शिवरामसिंह बस्न्यात गोरखादेखिकै प्रधानसेनापति हुनुहुन्थ्यो, काठमाडौँको पूर्वीभेगस्थित साँगाचोकको युद्धमा उहाँले वीरगति प्राप्त गर्नुभयो, उहाँपछि उहाँका छोराले पनि नेपाली सेनामै काम गर्नुभएको थियो, बस्न्यातकै लिगेसीमा अहिले पनि नेपाली सेनाले काम गरिरहेको छ, संविधानले दिएको कार्यक्षेत्रमा रहेर नेपालको अखण्डता र सार्वभौमसत्ताको संरक्षणमा सेनाले काम गर्छ”, प्रधान सेनापति शर्माले भने ।

नगर प्रमुख रमेश नापितले पर्यटकीय दृष्टिले महत्वपूर्णस्थल जहरसिंहपौवामा निर्माण भएको एकीकरण अभियानका प्रथम सेनापति बस्न्यातको शालिकले यस क्षेत्रलाई अझ चिनाउने विश्वास व्यक्त गरे । यहाँ ऐतिहासिक सङ्ग्रहालय र उद्यानलगायत संरचनाले यसको महत्वलाई अझ बढाउने विचार उनले राखेका थिए।

नगरपालिकाको साँगाचोक भन्ने स्थानमा बस्न्यातले वीरगति प्राप्त गरेपछि उनका नाति जहरसिंह बस्न्यातले प्रथम सेनापति शिवरामको स्मृतिमा पौवा बनाएपछि नै यस स्थानको नाम जहरसिंह पौवा रहेको ऐतिहासिक दस्तावेजका आधारमा यस ठाउँको विकास गर्न लागिएको हो ।

नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रममा पनि एकीकरण अभियानका पहलिो सेनापति बस्न्यातका बारेमा पाठ समावेश गरिएको छ । कक्षा सातको व्यक्ति परिचय शीर्षकको पाठ समावेश गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

वडाअध्यक्ष सूर्यबहादुर तामाङले पर्यटन र कृषिका माध्यमबाट नगरपालिकालाई समृद्ध बनाउने योजना अनुरुप ऐतिहासिकस्थल जहरसिंह पौवालाई संरक्षण एवम् प्रचारप्रसार गर्न लागिएको बताए । जहरसिंह पौवा ऐतिहासिकस्थल भएरपनि पिछडिएकाले यस क्षेत्रलाई अघि बढाउन सबैको सहयोग आवश्यक रहेकामा उनले जोड दिए ।

सैनिक इतिहासको विषयमा खोज अनुसन्धानमा लाग्नुभएका पूर्वजर्नेल डा प्रेमसिंह बस्नेतले तामाङ राजाले जार काटेर जहरसिंह पौवा नाम रहेको भन्ने स्थानीयवासीमा रहेको भ्रमलाई ऐतिहासिक दस्तावेज तथा प्रमाणका आधारमा मेटाएर शालिक निर्माण सम्पन्न भएको बताए । उनले ऐयितहासिक सङ्ग्रहालय र उद्यान निर्माणको कामलाई पनि अघि बढाइने जानकारी गराए ।

श्रीपाली बस्नेत समाजको नेतृत्वमा शालिक निर्माण भएको हो । अब सङ्ग्रहालय र उद्यानलगायत संरचना निर्माणलाई प्राथमिकतासाथ अघि बढाइने सो कार्यक्रममा समाजका अध्यक्ष एवम् पूर्वराजदूत डा निरञ्जनमानसिंह बस्नेतले बताए । नेपाल एकीकरण शुरु भएपछि शिवरामसिंह बस्न्यात प्रथम सेनापति नियुक्त भई नै सय सेनाका साथ गोरखाबाट नुवाकोट, काठमाडौँ विजय गर्दै जहरसिंह पौवाबाट पूर्व लाग्ने योजनामा हुनुहुन्थ्यो ।

इतिहासविद् दीनेशराज पन्तले एक हजार पाँच सय वर्षअघि कुमाउ, गढवालसम्म नेपालको सीमा रहेको उल्लेख गर्दै समयक्रममा खुम्चिएको नेपाललाई पृथ्वीनारायण शाहले पूर्वमा टिस्टासम्म पु¥याएको बताए । त्यो एकीकरण अभियानमा पहिलो सेनापति शिवरामसिंह बस्न्यातको भूमिका पनि महत्वपूर्ण रहेको उनले स्मरण गराए ।

प्राडा धनबहादुर कुँवरले शिवरामसिंह बस्न्यातजस्ता सेनापतिकै साथले नेपाल एकीकरणमा पृथ्वीनारायण शाह सफल हुनुभएको बताए । अहिलेको पुस्तालाई राष्ट्रियताको भावना जागृत गराउन यस्ता ऐतिहासिक शालिकले सहयोग गर्ने उनको भनाइ थियो ।

त्रिभुवन विश्वविद्यालय इतिहास, संस्कृति तथा पुरातत्व विभागका प्रमुख प्राडा मदनकुमार रिमालले सिन्धुलीमा नेपालले ब्रिटिशलाई हराएपछि पृथ्वीनारायण शाहको एकीकरण अभियान सुरु भएको बताए । सह प्राडा विनोद थापाले शिवरामसिंह बस्न्यातका चार छोराको पनि इतिहासमा योगदान रहेकाले त्यसको खोजवीन गरी प्रकाशन गरिनुपर्नेमा जोड दिए।

कार्यक्रममा शालिक निर्माण समितिका संयोजक थम्मनबहादुर बस्नेत, धनमानसिंह बस्न्यात, दीपक बस्नेत, डा सरोज बस्नेतलगायतले नेपालको इतिहासमा शिवरामसिंह बस्न्यातले गर्नुभएको योगदानका बारेमा चर्चा गरेका थिए ।

पहिलो प्रधानसेनापति शिवरामसिंह बस्न्यातका नातिले हजुरबाका नाममा बनाएको जहरसिंह पौवा अहिले छैन । जीर्ण भएर भत्किएको छ । त्यसलाई पनि पुनःनिर्माण गर्न लागिएको वरिष्ठ पत्रकार श्रीरामसिंह बस्नेतले जानकारी दिए। पौवा निर्माण गर्दा १६ रोपनी जग्गा भए पनि अहिले त्यो मासिएकाले नगरपालिकासँग जग्गा लिएर संरचना निर्माण गर्न लागिएको सो अवसरमा जानकारी दिइएको छ ।
रासस

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ८ : ३० बजे