माओवादीका आठ घटकले युद्धकालिन मुद्दा सर्वोच्चबाट टुंगो लाग्न नहुने भन्दै पत्रकार सम्मेलन गर्ने



काठमाडौं– विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिविरुद्ध एकजुट भइ सामना गर्ने निर्णय गरेका आठ माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन् ।


नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय सचिव श्रीराम ढकालले दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा पत्रकार सम्मेलन आयोजना गरिने जानकारी दिएका हुन् ।

द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि यी घटक नजिकिएका हुन् । उनीहरुको फागुन २६ गते बसेको बैठकले २८ गते संयुक्त पत्रकार सम्मेलन र ३० गते अन्तक्र्रिया गर्ने निर्णय गरेको थियो ।

नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलका अनुसार द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्छ भनेर पत्रकार सम्मेलन गर्न लागिएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ९ : ५६ बजे