उपराष्ट्रपति पदका लागि किरियापुत्रीद्वारा मतदान



काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।

सङ्घतर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादव र प्रदेशसभा तर्फबाट नेकपा (एमाले)का राजेन्द्रसिंह रावलले पहिलो मतदान गरे । सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ । निर्वाचनमा नेकपा (एमाले) बाट नेतृ अष्टलक्ष्मी शाक्य, जसपाका नेता रामसहायप्रसाद यादव र जनमत पार्टीकी नेतृ ममता झा उम्मेदवार छन् ।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ । मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा किरियापुत्रीले मतदान गरेका छन् । गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन् ।

पिता लोकराजको निधनमा आशोच बारिरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गरेका हुन् । उनी आजै दिउँसो पोखरा फर्कँदै छन् ।

उनले भन्, “संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।”

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  १२ : ०२ बजे