प्रधानमन्त्रीको तालिका : चैत ६ विश्वासको मत, चैत १० सरकार विस्तार, लगत्तै भारत भ्रमण



काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत्र १० गतेभित्र सरकारले पूर्णता पाउने बताएका छन् । आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन÷चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् ।

शुक्रवार लगानी बोर्डको बैठकपछि संवाददातासँग उनले मन्त्रिपरिषद् विस्तारको गृहकार्य भइरहेको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलहरुसँग बसेर सत्ता बिस्तारको बारेमा पनि थप छलफल गर्ने बताए ।
‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिन भित्रमा सरकारलाई पूर्णता दिन्छु’ उनले भने ।

विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गरेलगत्तै प्रधानमन्त्री दाहाल भारतको औपचारिक भ्रमणमा जाने तयारीमा छन् । भारतको भ्रमणका लागि यसअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा हस्तान्तरण गरिसकेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ६ : ०० बजे