विराटनगरमा अनिश्चितकालिन निषेधाज्ञा



विराटनगर – कोशी प्रदेशको नामकरणको विरोधमा हुनसक्ने आन्दोलनलाई ध्यानमा राखेर विराटनगर बजारका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको हो ।

निषेधित क्षेत्र तोकिएका स्थानमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म छन् ।

निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेलार्, याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । आदेश उल्लंघन गरिए कारबाही हुनेतर्फ पनि प्रशासनले सचेत गराएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ९ : ५५ बजे