कांग्रेस नेता कोइराला भन्छन् : व्यक्तिगत फोन ट्याप गर्ने कुरा अस्वीकार्य



काठमाडौं– नेपाली कांग्रेसका सदस्य शेखर कोइरालाले सरकारले व्यक्तिगत फोन ट्याप गर्ने कुरा अस्वीकार्य हुने बताएका छन् । यसले सरकारको नियतमा प्रश्न उठेको समेत उनले बताएका छन् ।

सरकारले टेलिफोन र मोबाइल, सामाजिक सञ्जाललगायतमा नागरिकले गरेका कुराकानी सरकारी अधिकारीले सिधै रेकर्ड गर्न सक्ने गरी विधेयक ल्याउन मस्यौदा नै बनाइसकेको छ । यसवारे समाचार आएपछि कोइराला विरोधमा उत्रेका हुन् । उनले विगतमा विरोधका कारण रोकिएको विधेयक अहिलेको सरकारले फेरि अगाडि बढाउन लागेको भन्दै यसले सरकारको नियतमाथि प्रश्न उठेको बताए ।

‘लोकतन्त्रमा यो वा त्यो बहानामा नित्तान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन । विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि बढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ । राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगत्को समेत ध्यान जाओस्’ उनले भने ।
ओली सरकारले ०७६ को साउनमा विधेयक ल्याएको थियो । त्यसवेला कांग्रेसलगायतका राजनीतिक दल र नागरिक समाजबाट यसको चर्को विरोध भएपछि रोकिएको थियो । अहिले कांग्रेससहितको गठबन्धन सरकारले अझै स्पष्ट व्यवस्था गर्दै विधेयक ल्याउने तयारी रहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १ : २४ बजे