सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्रीको ब्रिफिङ



काठमाडौं– भागवण्डा मिल्न नसक्दा मन्त्रिपरषद् विस्तारमा ढिलाई भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्ममा विस्तार हुने बताएका छन् ।

शनिवार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले सबै दलहरूसँग छलफल भएको र आइतबारसम्म भागबण्डाको प्रस्ताव तयार हुने बताएका हुन् । यद्धपी भागवण्डा भने मिलिनसकेको पनि प्रचण्डले बताएका छन् ।

बैठकपछि संवाददातासँग माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रस्ताव तयार भएपछि आइतवार वा सोमवार गठबन्धन दलहरूको बैठक बसेर मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने बताए । ‘सबै दलहरूसँग छलफल गरेर प्रस्ताव तयार गर्ने जिम्मा प्रधानमन्त्रीलाई दिएको थियो । त्यस अनुसार मोटामोटी छलफल भएको र अब प्रस्ताव आइतबारसम्म तयार हुन्छ । ढिलोमा सोमवारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’

माओवादी बैठकले गठबन्धन दलहरूसँग छलफल गरेर संसद्को कारबाही प्रभावकारी बनाउने र टिआरसी लगायतका विधेयक पारित गर्नेबारे बैठकमा छलफल भएको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ९ : ५९ बजे