प्रधानमन्त्री प्रचण्डविरुद्ध नारा लगाउने जेल चलान



काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन जनालाई कारागार चलान गरिएको छ ।

चैत ७ मा काठमाडौंको थापागाउँमा प्रधानमन्त्री प्रचण्ड सहभागी कार्यक्रममा उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले प्रधानमन्त्रीसमक्ष आफ्ना माग राख्न पाउनुपर्ने माग गर्दा सुरक्षाकर्मीले रोकेपछि नारावाजी गरेका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चैत १२ मा सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्कालाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए ।

उनीहरुले धरौटी नबुझाएपछि केन्द्रीय कारागार पठाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्टले धरौटी नबुझाएका कारण जेल चलान भएको बताएका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ५ : ४६ बजे