सीमावारे बोल्दैनन्, उल्टै म विरुद्ध कुरा लगाउन प्रचण्ड र देउवा अव भारत जान्छन् : अध्यक्ष ओली



पाल्पा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र शेरबहादुर देउवाले नेपाली भूभागको रक्षा गर्न नसक्ने बताएका छन् । उनीहरुले भारतको मिचेको जमिन फिर्ता ल्याउन नसक्ने र उल्टै आफविरुद्ध कुरा लगाउन भारत जानेसमेत दावी गरे ।

ओलीले आफूले सरकार छाडेपछि देशको भूगोल खुम्चेको समेत बताएका छन् । मिन ग्रासरुट अन्तगर्त एमालेले पाल्पामा आयोजना गरेको कार्यक्रममा ओलीले प्रचण्ड र देउवाले देशको भूगोल खुम्च्याएको आरोप लगाएका हुन । ‘सरकारका हुँदा एमालेलाई काम गर्न दिइएन, हटाइयो, त्यसपछि डेढ वर्षमा हाम्रो देशको भूगोलवारे कुरै गरिएको छैन । भूगोल खुम्च्याउने काम भयो, सीमा मिचियो’ ओलीले भने, ‘उनीहरुले आफ्नो भूभाग नदेखेझैं गरे ।’ सीमा रक्षा गर्ने सरकारमा हुनेहरुको कर्तव्य भए पनि त्यसमा वर्तमान सरकारको ध्यान नभएको उनले बताए ।


‘सीमा मिचिएको छ र ? मैले त देखिन भन्छन् । कस्तो दलाली, कस्तो चाकडी ?’ उनले भने । मिचिएको सीमा फिर्ता ल्याउनुपर्छ भन्न उनीहरुले नसक्ने भन्दै बरु उल्टै अब आफूविरुद्ध प्रचण्ड र देउवाले भारतमा कुरा लगाउन सक्ने ओलीले बताए । ‘मैले यति बोलेपछि कुम्लो कुटुरो बोकेर कुरा लाउन जान्छन् । केपी ओलीले नेपालको सीमा घटायो भन्यो, त्यसलाई नेपालको सत्तामा आउन दिनु हुदैन भनेर पोल लाउन पुग्छन्’ उनले भने ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ७ : १८ बजे