कर्णाली प्रदेश : एमालेले मुख्यमन्त्रीलाई विश्वासको मत दिने

आफैँले बनाएको सरकारलाई समर्थन नगर्ने कुरै भएन : कँडेल



कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई नेकपा (एमाले) ले विश्वासको मत दिने भएको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठकमा भाग लिँदै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा मत दिने बताउनुभएको हो । एमाले अहिले सत्तापक्षको बेन्चमा छ ।

उहाँले भन्नुभयो, “जुन आसनमा हामी छौँ, त्यहीअनुसार हामी पक्षमा मत दिन्छौँ, आफैँले बनाएको सरकारलाई समर्थन नगर्ने कुरै भएन”, उहाँले भन्नुभयो । नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले छलफलमा भाग लिँदै मुख्यमन्त्री शर्मालाई आवश्यक भएको अवस्थामा मात्रै मत दिन सकिने बताउनुभयो । आजै विश्वासको मत विभाजन हुने भए पनि नेता शाहीले मत दिने वा नदिने प्रष्ट पार्नुभएन । उहाँले भन्नुभयो, “अप्ठेरो परेमा विश्वासको मत दिनेबारे सोच्छौँ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन फिर्ता लिएपछि कर्णालीका मुख्यमन्त्री शर्माले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने कुरा प्रष्ट पार्न प्रस्ताव गर्नुभएको हो । अहिले सदन चलिरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : १८ बजे