दस जनाले दसतिर तानेकाले देशको रथ कहाँ पुग्ला : ओली



काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘एमाले विरोधी हुँ’ भन्नेहरु वर्तमान सरकारमा मन्त्री भएको बताएका छन् । दश दल दशतिर तान्दा देशको रथ कता पुग्ने भन्ने चिन्ता एमालेलाई भएको उनले बताए ।

काठमाडौंमा आइतबार आयोजित पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देश बनाउन एउटा नीति, एउटा विचार, एउटा बलियो संगठन आवश्यक पर्ने बताए ।

‘राष्ट्रिय शक्ति निर्माण गर्ने एमालेको उद्देश्य हो, देशको निम्ति काम गर्ने एमालेको उद्देश्य हो, त्यस्तो पार्टीलाई राष्ट्रिय शक्ति बन्न नदिएर नेपाललाई छिन्नभिन्नको स्थितिमा पुर्याएका छन् । अहिलेको हेर्नुस् त, केका मन्त्री हुन्, कस्ता मन्त्री हुन् ? कस्तो गठबन्धन हो ? यस्ता कुराहरुबाट हामी देश बनाउन सक्दैनौं’ उनले भने,‘ एउटा नीतिमा देश चल्नुपर्छ, एउटा विचारमा देश चल्नुपर्छ । एउटा संगठनले नेतृत्व गर्नुपर्छ । दसतिर फर्केका छन् । उसले उता डोरी तान्छ, अर्कोले उता डोरी तान्छ । त्यस्ताले कहाँ र्पुयाउँछन् देश ? देशको रथ कता जाने ?’

अध्यक्ष ओलीले एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिएर देशलाई दक्षिणपन्थी शक्तिहरुले छिन्नभिन्न बनाउने प्रयास गरिरहेको पनि बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : ५३ बजे