सत्तारुढ पाँच दल एकातिर, रास्वपा र जनमतका आफ्नै उम्मेदवार



काठमाडौं – सत्तारुढ पाँच दलले बैशाख १० मा हुने उपनिर्वाचनमा गठवन्धनका साझा उम्मेद्वारलाई जिताउन संयुक्त आव्हान गरेका छन् । सत्तारुढ गठवन्धन १० दलीय भएपनि पाँच दलमात्र साझा उम्मेद्वार उठाउन सहमत भएका छन् ।

निर्वाचनको भावना अनुसार, पार्टीहरुले आफ्नै उम्मेद्वार खडा गर्नुपर्नेमा उपनिर्वाचनमा समेत गठवन्धन गर्न केही दल लागेका हुन् । सत्तारुढ भएपनि रास्वपा र जनमत पार्टीले भने आफ्नै उम्मेद्वार उठाएका छन् । रास्वपाले उपनिर्वाचन हुने तीन क्षेत्रमै उम्मेद्वार उठाएको छ भने जनमत पार्टीले वारा २ मा जित्ने दावी गरेको छ ।

उता, प्रतिपक्षी एमालेले भने तीन क्षेत्रमै आफ्ना उम्मेद्वार उठाएको छ । उसले विना गठवन्धन तीनवटै क्षेत्रमा निर्वाचन जित्ने बताएको छ । एमालेका तर्फबाट वारा २ मा पुरुषोत्तम पौडेल, चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाल छन् ।
पाँच सत्तारुढ दलका तर्फबाट तनहुँ १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा २ मा जनता समाजवादी पार्टी उपेन्द्र यादव उम्मेद्वार छन् ।

संयुक्त विज्ञप्तिमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर ठाकुरले संयुक्त अपिल गरेका छन् ।

संयुक्त अपिलमा भनिएको छ, ‘गठबन्धन दलका पार्टीका सदस्य, भ्रातृ एवं शुभेच्छुक संघ, संस्थारसंगठनका साथीहरु तथा शुभचिन्तक सबैको सक्रिय योगदानका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्न तथा गठबन्धनमा रहेका दलको सम्बन्धित प्रदेश, जिल्ला र उप(निर्वाचन हुने प्रतिनिधि सभा क्षेत्रसँग आवश्यक समन्वय गरी गठबन्धन दलका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउन आ(आफ्नो तहबाट सम्पूर्ण पार्टी पंक्तिलाई व्यापक परिचालन गर्नु गराउनु हुन हार्दिक आह्वान गर्दछौं ।’

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ८ : ३३ बजे