इजरायलबाट फर्केर तर्बुजा खेतीमा रमाउँदै सुन्दर



नुवाकोट । सामूहिक रुपमा तरकारी र सयपत्री फूल खेती गर्दै आएका वेलकोटगढी नगरपालिका–५ नुवाकोटका सुन्दर नेपाल हाल तर्बुजा खेतीमा व्यस्त रहेका छन् । उनले गएको वर्षदेखि विदुर नगरपालिका–६ मा २० रोपनी जग्गा भाडामा लिएर तर्बुजा खेतीको सुरुआत गरेका छन् ।

जिल्लामा नगन्य मात्रामा हुने तर्बुजा खेतीलाई उनले व्यावसायिक रुपले अगाडि बढाएका छन् । “दुईपिपल महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडमार्फत कृषि तालिमको लागि विसं २०७५ मा इजरायल जाने अवसर पाएको थिए । १० महिनाको अवधिमा कृषिको बारेमा धेरै कुरा सिके । तालिमकै समयमा आफ्नै ठाउँमा कृषि खेती गर्छु भन्ने अठोट लिएको थिए”, उनले भने, “आफ्नो ठाउँ फर्किएपछि तीन जनाले सामूहिक रुपमा करेला, गोलभेडा, घिरौँलासँगै सयपत्री फूलको खेती गर्न थाल्यौँ । त्यसलाई पनि निरन्तरता दिँदै गत वर्षदेखि एकल रुपमा तर्बुजा खेतीको सुरुआत गरे । सरस्वती, भिशाला, किरण र मन्नत गरी चार प्रजातिको तर्बुजा यहाँ पाइन्छ ।”

गत वर्षको उत्पादनले बजार व्यवस्थापनमा देखेको तितो यथार्थले उनलाई यस खेतीमा झन् बढी सक्रिय बनाएको छ । अबको दुई हप्ताभित्रमा उत्पादित तर्बुजालाई बजार पु¥याउने चटारो हुने उनको भनाइ छ । “व्यापारी यही आएर उत्पादन के कस्तो छ भनेर हेरि रहेका छन् । तर म व्यापारीमार्फत भन्दा पनि आफैँले नै उपभोक्तासम्म पु¥याउने सोचमा छु । जसले गर्दा उपभोक्ताको साथै मलाई पनि फाइदा हुनेछ”, उनले भने, “गुणस्तरीय उत्पादन गर्नुपर्छ भनेर मेहिनत गरिरहेको छु । तर्बुजामा लाग्ने किरा नियन्त्रणको लागि जैविक प्रविधि अपनाएको छु ।”

स्थानीयको बाँझो जमिन भाडामा लिएर सुरु गरिएको खेतीमा रु १० लाख लगानी भइसकेको छ । त्रिशूली नदीको नजिक खेती गरिएको कारण सिँचाइको सुविधा रहेको छ । व्यावसायिक कृषिमा आबद्ध कृषकको लागि सबैभन्दा ठूलो समस्या नै बजार व्यवस्थापन रहेको उनको भनाइ छ ।

“स्थानीय तहदेखि कृषिको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी सङ्घसस्थाले हाट बजार सञ्चालन गरिदियो भने बजारको समस्या हुने थिएन भन्ने लाग्छ”, उनले भने, “यहाँ तर्बुजा खेतीसँगै काक्रो र कुरिलो खेती पनि गरेको छु । यसको सबै काम आफूले मात्र गर्न भ्याइन्न । परिवारका अन्य सदस्य सधैँ सँगै हुन्छन् । स्थानीयलाई दिन गन्तीको हिसाबले काममा लगाउँछु ।”

बाहिरी बजारबाट जिल्ला भित्रने तर्बुजालगायत कृषि उपज विस्थापन गर्नको लागि स्थानीयस्तरमा नै उत्पादनमा जोड दिनु आवश्यक छ । त्यसको लागि वेलकोटगढी नगरपालिका–५ का सुन्दर नेपालको जस्तै अन्य युवामा इच्छाशक्तिकोे खाँचो रहन्छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  ९ : ३८ बजे