प्रधानमन्त्रीलाई भेटेका बारका अध्यक्ष भन्छन् :उहाँले चाँडै प्रधानन्यायाधीश नियुक्ति गर्छु भन्नुभएको छ



काठमाडौं– कानुन व्यवसायीले तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीसहितको टोलीले बिहीवार विहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न ध्यानाकर्षण गराएका हुन् ।

एसोसिएसनले हिजो हिजो पत्रकार सम्मेलन गर्दै १० दिनभित्र प्रधानन्यायाधीश नियुक्त नभए आन्दोलन गर्ने घोषणा गरेको थियो ।
प्रधानमन्त्रीलाई भेटेपछि संवाददातासँग नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानमन्त्री संवैधानिक परिषदको अध्यक्षसमेत भएकाले तत्काल प्रधानन्यायाधीश नियुक्तिको पहल लिन ध्यानाकर्षण गराएको बताए । प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश नियुक्तिका लागि आफूले पहल गरिरहेको र चाँडै ठोस निस्कर्षमा पुग्ने बताएको पनि घिमिरेले जानकारी दिए ।

प्रधानन्यायाधीश नियुक्ति नहुँदा न्यायपालिकाको साख गिरेको महसुस गरेको र करिब १४ महिनादेखि कायममुकायम प्रधानन्यायाधीशबाट सर्वोच्च अदालत सञ्चालन गर्दा न्याय सम्पादनमा कठिनाइ भइरहेको बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  १० : ३० बजे