काठमाडौं । बारा, चितवन र तनहुँमा अहिले उपनिर्वाचनका लागि मतदान भइरहेको छ । बिहान ७ बजेदेखि शुरुभएको मतदान साँझ ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि ती निर्वाचन क्षेत्र खाली भएका थिए ।
त्यस्तै, चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले उपनिर्वाचन हुन लागेको हो । रिक्त पद उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था भएकाले निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो ।
चितवन र तनहुँमा एमाले, कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा हुनेछ भने बारामा जनमत जसपा, एमाले र रास्वपावीच प्रतिस्पर्धा हुँदैछ ।





प्रतिक्रिया