सिङ्गो देश परिवर्तनको पक्षमा: सभापति लामिछाने



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सिङ्गो देश परिवर्तनको पक्षमा देखिएको बताएका छन् । चितवन क्षेत्र नं २ को उपनिर्वाचनमा फराकिलो मतान्तरले विजयी बनेका लामिछानेले धन्यवाद सभालाई सम्बोधन गर्दै जनताले दिएको मत परिवर्तनको बिगुल भएको बताए ।

जनता अन्यायमा परे, भ्रष्टाचार बढ्यो भन्दा नसुनेपछि आफु चुनाबी मैदानमा आउनु परेको भन्दै उनले जनताको मतको कदर गर्दै अन्यायमा पर्न नदिने बताए । सामान्य त्रुटीका कारण पाँच वर्षका लागि पाँच महिना अघि निर्वाचित भएर गए पनि पुनःमत माग्न आउनु परेको भन्दै उनले जनताको अदालत सबैभन्दा ठूलो अदालत भएको बताए । विकास निर्माणमा आफूले कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताउँदै संसद्मा रहँदा देशको सुशासन, गरिबी, अशिक्षा ,भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताए ।

सुरुवातीको वर्ष विकासका योजना निर्माणमा लाग्ने र अन्य वर्षमा देखिने गरी विकासका कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ थियो । उनले प्रतिस्पर्धी उम्मेदवार र उनका मतदातालाई समेत आभार व्यक्त गरे । उनले भने “निर्वाचनको समयमा केही कमी कमजोरी भए क्षमा चाहान्छु । नयाँ दल भएकाले राजनीतिक अभ्यास सिक्दै गरेका छौँ । गल्ती भए माफ गर्नुहोला ।” नेपाली जनताले स्वर्णीम युगको खोजी गरिरहेको सङ्केत उपनिर्वाचनबाट दिएको उनको भनाइ थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका अनुसार ७८ हजार ६६४ मत खसेकामा लामिछानेले ५४ हजार १७६ का साथ निर्वाचित भए । पाँचदलीय गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले जम्मा ११ हजार २१४ मत ल्याउन सके । लामिछाने र श्रेष्ठ बीचको मतान्तर ४२ हजार ९६२ छ ।

एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए । अन्य १९ जना उम्मेदवारको जमानत जफत भयो । अघिल्लो निर्वाचनको भन्दा झण्डै ६ हजार मत कम खस्दा पनि अरु दलको मत घटेको छ भने रविको बढेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ५ : २२ बजे