मिटरब्याजीलाई कारवाही गर्न अध्यादेश जारी



काठमाडौं– सरकारले मिटरब्याजीलाई कारबाही गर्न अध्यादेश जारी गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका हुन् ।अध्यादेशले मुलुकी संहितामा संशोधन गर्दै मिटरब्याजलाई अनुचित लेनदेनका रूपमा कानुनी रूपमा परिभाषित गर्दै त्यस्तो कार्य दण्डनीय हुने प्रावधान गरेको छ ।

राष्ट्रपति कार्यालयका अनुसार, राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेको जानकारी दिए ।
मिटरब्याज पीडितहरुसँगको सम्झौताका क्रममा फास्ट ट्य्राकबाट कानुन ल्याएर मिटरब्याजीलाई कारबाहीको प्रक्रिया अघि बढाउने सरकारले बताएको थियो । चैत १९ मा यो सहमति भएपछि आन्दोलन रोकिएको थियो । लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले कानुन बनाउने निर्णय गरेको थियो ।

मिटरब्याजपीडितका मागबारे उजुरी लिन र अनुसन्धान गर्न गठित तीन सदस्यीय आयोगले काम गरिरहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ४ : ०८ बजे