अर्धनग्न भएर विरोध



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्न नदिएको भन्दै सांसद अमरेशकुमार सिंहले लुगा फुकालेर (अर्धनग्न भएर) विरोध जनाएका छन् ।

सभामुख देवराज घिमिरेले बैठकको सुरुमै आज आकस्मिक समय नरहेको र सोझै कार्यसूचीमा प्रवेश गर्ने बताएका थिउ । तर केही सांसदहरूले बैठकमा उभिएर त्यसको विरोध जनाए ।

सांसद सिंहले पनि आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै सभामुखलाई आग्रह गरेका थिए । तर सभामुख घिमिरेले उनलाई बोल्ने समय उपलब्ध नगराएकाले बस्न भनेका थिए । त्यसपछी सांसद सिंहले आफूले लगाएको सर्ट फुकालेर विरोध जनाए । सांसद सिंहले संसद्को मर्यादाविपरीत क्रियाकलाप गरेको भन्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को निमय ३० अनुसार पटकपटक चेतावनी दिएपछि सांसद सिंह आफ्नो स्थानमा बसेका थिए । आजको बैठकको शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले यस्तो क्रियाकलाप संसदीय अभ्यासविपरीत रहेको धारणा राखेका छन्।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १२ : १७ बजे