संसद्मा प्रधानमन्त्रीको जवाफः एक महिनाभित्र नागरिकता समस्या समाधान गर्छौं

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गरिने



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नागरिकतासम्बन्धी समस्या समाधान हुन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा जसपाका सांसद दीपक कार्कीले बाबुले वंशजको नागरिकता पाउँदा छोराछोरीले जन्मसिद्ध नागरिकता पाएका छन्, छिटो नागरिकता दिनेगरी व्यवस्था गर्न सकिन्छ कि सकिन्न? भनी गरेको प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले यस विषयमा छलफल गरिरहेको हुँदा समस्या समाधान हुने आशा गरिएको बताए ।

यस विषयमा छलफलका क्रममा आएको सुझाव वा सङ्कल्प प्रस्तावमार्फत प्रमाणीकरण गर्न अनुरोध गर्ने वा मन्त्रिपरिषद्बाट निर्णय गरेर प्रमाणीकरण गर्न अनुरोध गर्नसक्ने विकल्पका बारेमा पनि परामर्श जारी रहेको प्रधानमन्त्री दाहालले जानकारी दिए ।

नागरिकतासम्बन्धी उक्त विधेयक मृत भन्ने तर्कलाई लिने अवस्थामा पनि पुनःशून्यबाट सदनमा प्रक्रिया सुरु गरी एक महिनाभित्र समाधान गरिने उनको प्रतिबद्धता थियो । प्रम नियुक्त हुँदा छ महिनाभित्र नागरिकता समस्या समाधान गर्ने भनी दाहालले बोलेको विषय पनि सांसदहरुले स्मरण गराएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गरिने
त्यसैगरी, प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । दोषी कोही उम्कन नपाओस्, निर्दोष कोही नपरोस् भन्ने भावनाले सरकारले काम गरिरहेको उनले जानकारी गराए ।

“स्वतन्त्र र निष्पक्षरुपमा सरकारले छानबिन गरिरहेको छ, अपराधीलाई कानुनको दायरामा ल्याउने काम भएको छ, यस विषयमा दृढतापूर्वक छानबिन गर्न गृहमन्त्रीलाई निर्देशन दिएको छु, शरणार्थी प्रकरण देशकै निम्ति गम्भीर र संवेदनशील विषय बनेकाले यसमा संलग्न कसैलाई पनि माफी दिइने छैन”, प्रधानमन्त्री दाहालले भने ।

सांसद मेटमणि चौधरीका तर्फबाट सांसद शेरबहादुर कुँवरले नक्कली भुटानी शरणार्थी प्रकरणमा शीर्ष नेतृत्वको संलग्नता पुष्टि भए के गर्नुहुन्छ? आर्थिक सङ्कटको समाधान कसरी गर्नुहुन्छ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले गलत काम गर्ने कसैले पनि छुट नपाउने प्रतिबद्धता जनाए ।

प्रधानमन्त्री दाहालले मौसमी प्रणालीमा आधारित कृषि रहेकाले समयमै मल, बीउ उपलब्ध गराउन कृषि मन्त्रालयलाई निर्देशन दिएको बताए । यस वर्षको नीति कार्यक्रम र बजेटमा पनि कृषिलाई प्राथमिकता दिइने उनको प्रतिबद्धता छ ।

जनमत पार्टीका तर्फबाट निर्वाचित सांसद अनिता देवीले धानको बीउ छर्ने बेला भइसक्यो, मल र बीउ एकैपटक पाइन्छ कि पाइन्न? भन्ने प्रश्नको जवाफमा प्रम दाहालले मल कारखाना खोल्नेलगायत कार्यक्रमलाई आगामी वर्ष प्राथमिकतामा राखिएको बताएका छन् ।

भ्रष्टाचारमा सरकारको शून्य सहनशीलता
प्रम दाहालले भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताको नीति लिएको बताएका छन् । शरणार्थी प्रकरणमात्र होइन, सम्पत्ति शुद्धीकरणका ठूला घटनालगायत अन्य ठूला प्रकरणका बारेमा आवश्यक परेमा कानुन संशोधन गरेर पनि कारबाही हुने प्रतिबद्धता उनले जनाएका छन् ।

सांसद सर्वेन्द्रनाथ शुक्लले भ्रष्टाचारविरुद्धका काम कारबाही फलदायीरुपमा अघि बढ्न सकेको छैन? यसमा सरकारको कार्यक्रम के छ? भन्ने प्रश्नको जवाफमा “अहिलेको अवस्थालाई सच्याउने अवसरका रुपमा सबै दल लाग्नुपर्ने अवस्थामा हामी छौँ, देशमा सुशासनका लागि यो अवसरलाई गुम्न दिनुहुन्न”, प्रम दाहालले भने ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार छ
प्रम दाहालले गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार रहेको बताएका छन् । सांसद गङ्गाराम चौधरीले विसं २०७२ मा टीकापुरमा भएको आन्दोलनमा पहिचानसहितको अधिकार माग गर्दा घुसपैठ गरी हिंसा गराइएकाले न्याय भयो त? रेशम चौधरीलगायत अन्यायमा परेका विषयमा सरकारले के गर्छ? भनी गरेको प्रश्नमा उक्त जवाफ दिएका छन् ।

सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेश किन कार्यान्वयन भएन? किन बाधा, अड्चन आयो? भनी उनले प्रश्न राखेका थिए । टीकापुरलगायत पहिचानका लागि भएका अन्य आन्दोलनमा संलग्न बन्दीलाई रिहा गर्न विधेयक तयार भएको जवाफ प्रधानमन्त्री दाहालले दिए । रेशम चौधरीलाई रिहा गर्न कानुनी प्रक्रियाबाट नै सरकारले काम गरिरहेको उनको भनाइ थियो ।

गुणस्तरीय शिक्षा प्रदान गर्न ख्वपलगायत विश्वविद्यालय विधेयक पारित हुने प्रतिबद्धता पनि प्रधानमन्त्री दाहालले जनाएका छन् । सांसद प्रेम सुवालले ख्वप विश्वविद्यालय विधेयक पारित नभई कसरी ज्ञानमा आधारित समाज बन्छ? भनी राखेको प्रश्नको उत्तरमा यस्तो जवाफ दिइएको हो ।

प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीले पहिले भारतबाटै भ्रमण गर्नुपर्ने बाध्यता नभएको स्पष्ट गरेका छन् । सांसद चित्रबहादुर केसीले नेपाली प्रधानमन्त्री नियुक्त भएपछि पहिलो भ्रमण भारतबाटै गर्नुपर्ने बाध्यता के छ? भनी गरेको प्रश्नको जवाफमा उनले यस्तो उत्तर दिएका हुन् ।

प्रम दाहालले नेपाली नागरिकता त्याग्नेको तथ्याङ्क गृह मन्त्रालयले सङ्कलन गरिरहेको बताए । सांसद प्रभु साहले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेको सङ्ख्या कति छ? उनीहरुको सम्पत्ति के भएको छ? भन्ने प्रश्नको जवाफमा प्रम दाहालले नेपालबाट सम्पत्ति बेचेर विदेश लैजान नपाइने बताए ।

गौरलगायत विभत्स हत्याकाण्ड र दरबारबार हत्याकाण्डको पनि नयाँ शिराबाट छानविन हुनुपर्छ भनी सरकार लागेको प्रधानमन्त्री दाहालले बताए । गौर हत्याकाण्डको छानबिनमा के काम के भइरहेको छ? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । मदनआश्रित हत्याकाण्डको पनि फेरि छानविन गरिनुपर्नेमा उनको जोड छ ।

सांसद अमरेशकुमार सिंहले विभिन्न भ्रष्टाचार काण्डको छानविन कहिलेदेखि सुरु हुन्छ? नेपालीले मल, बीउ समयमै कहिले पाउँछन्? भन्ने प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् ।

सांसद योगेन्द्र मण्डलले छ महिनाभित्र नागरिकता दिने प्रधानमन्त्रीको भनाइमा कसरी विश्वास गर्ने? भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

पञ्चशीलका आधारमा परराष्ट्र नीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा नै हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफमा उनले राष्ट्रको हितलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीतिलाई निरन्तता दिइने उल्लेख गरे ।

बैठक सांसद दीलेन्द्रप्रसाद बडूले नेपालको परराष्ट्र नीति कसरी अगाडि बढाउने सरकारको योजना छ भनी प्रश्न गरेका थिए । त्यस्तै सांसद रघुजी पन्तले नेपाल–भारतबीचको १९५० सन्धि, नेपालको सीमा र भूमिको रक्षालगायत विषयमा भारत भ्रमणको क्रममा छलफल हुन्छ कि हुँदैन भनी प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री दाहालले भने, “भारत भ्रमणबारे सीमाका सम्बन्धमा हामी एक इञ्च पनि जमिन छोडदैनौँ, छिमेकीको पनि एक इञ्च पनि जमिन चाहिँदैन, यही कुरा हामी भारत भ्रमणमा गएर गछौँ, नेपालको राष्ट्रिय हित, एकतामा असर पर्ने काम हुन दिइने छैन ।”

सांसद दीपक गिरीले दाङको टरिगाउँको विमानस्थलको स्तरोन्नति कहिले हुन्छ भनी गरेको प्रश्नमा उनले उक्त विमानस्थल स्तरोन्नति गर्ने विषयमा सरकार गम्भीर रहेको र छिट्टै काम अघि बढाउने विश्वास दिलाए ।

सांसद विद्या भट्टराईले मुलुकमा भ्रष्टाचार र बेतिथि बढेको, लडाकु शिविर, ललिता निवास र नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा नियन्त्रण र कारबाहीका लागि सरकारको के गरिरहेको छ भन्ने प्रश्न यरेकी छन्।

जवाफमा प्रधानमन्त्री दाहालले भने, “भ्रष्टाचार र सङ्गठित अपराधलाई सरकारले छाड्ने छैन, नक्कली भुटानी शरणार्थीको विषय नेपालकै इज्जतको विषय बनेको छ, सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता नीति अवलम्बन गरेको छ, त्यसप्रति सरकार प्रतिबद्ध छ ।”

सांसद रामहरि खतिवडाले भूकम्पपछिको पुनःनिर्माण र पछिल्लो आर्थिक अवस्थाका बारेमा गरेको प्रश्नमा प्रधानमन्त्री दाहालले अहिले विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख सुधार भएको जानकारी गराए ।

साथै, उनले सार्वजनिक सेवा प्रवाहले राज्य र सरकारप्रति जनताको भरोसा बढदै गएको उल्लेख गर्दै सरकारले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएको स्पष्ट पारे । यस्मा परिणाम देखिने गरी काम गर्ने उनको प्रतिबद्धता थियो ।

प्रधानमन्त्री दाहालले भूकम्पपीडितका लागि बाँकी रहेको किस्ता रकम निर्धारित समयभित्रै वितरण गरिने जानकारी गराए । सो अवसरमा उनले मुलुकमा गणतन्त्रको स्थापनापछि शिक्षा, स्वास्थ्य, साक्षारता, आर्थिक विकास, कृषिलगायत क्षेत्रमा भएका प्रगतिबारे तथ्याङक प्रस्तुत गरे ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ६ : २५ बजे