कतार र युएईबीच पुनः कूटनीतिक सम्बन्ध स्थापना



दोहा । कतार र संयुक्त अरब इमिरेट्स .(युएई) ले आफ्नो कूटनीतिक प्रतिनिधित्व पुनःस्थापित गर्ने घोषणा गरेका छन् ।

कतारको अबुधाबीस्थित दूतावास र दुबईस्थित माहावाणिज्य दूतावास र युएईको दोहास्थित दूतावास सोमबारदेखि खुल्ने छन् ।

कतार न्यूज एजेन्सीका अनुसार दुवै पक्षले यो महत्वपूर्ण कदमले दुवै देशका नेतृत्वको दृढतालाई प्रतिबिम्बित गर्नुका साथै संयुक्त अरब पहलको प्रगतिमा योगदान पु¥याउँदै दुई अरब मुलुकको भ्रातृ आकाङ्क्षा पूरा गर्न योगदान पुर्‍याउने कुरामा जोड दिएका छन् ।

सन् २०१७ को जुनमा आतङ्कवादलाई सहयोग पुर्‍याएको र क्षेत्रीयस्तरमा अस्तिरता निम्त्याएको भन्दै साउदी अरब, युएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेका थिए । कतारले भने यी आरोपको खण्डन गर्दै आएको थियो ।

यद्यपि, सन् २०२१ मा साउदी अरबलगायतका खाडी मुलुकले अल–उलामा भएको ४१औँ खाडी सहकार्य परिषद् शिखर सम्मेलनका क्रममा कतारसँग कूटनीतिक सम्बन्ध पुनः स्थापनाको घोषणा गरेका थिए ।

तर, कतिपय विषयमा सहमति जुट्न नसक्दा यी देश र कतारबीच पूर्ण सामान्यीकरणको प्रक्रियामा ढिलाइ भएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  २ : ४८ बजे