शिक्षामा सीप कार्यक्रम विद्यार्थीको मुख्य रोजाइ विद्युतीय सामान मर्मत



काठमाडौँ । यसै शैक्षिक सत्रदेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको शिक्षामा सीप कार्यक्रममा विद्यार्थीको मुख्य रोजाइ मोबाइल तथा विद्युतीय सामान मर्मत रहेको छ ।

गत वैशाख पहिलो सातादेखि सुरु भएको शिक्षामा सीप कार्यक्रमका लागि १० विधा निर्धारण गरीएको भए पनि सबैभन्दा धेरै मोबाइल र विद्युतीय सामान मर्मत विधामा विद्यार्थीको रुचि रहेको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बताए ।

“प्रतिस्पर्धी जीवनका लागि व्यावहारिक शिक्षा प्रदान गर्नु कार्यक्रमको लक्ष्य हो । यसले विद्यार्थीहरूमा श्रमप्रतिको आदर र सम्मान भाव विकास हुन थालेको छ । सीपमूलक तालिम सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि कक्षा १२ सम्मका विद्यार्थीका लागि हो”, कोइरालाले भने । निर्दिष्ट गरिएका विधामध्ये धेरै विद्यार्थीको सहभागिता मोबाइल एण्ड एलेक्ट्रोनिक्स छ । यसमा २२ वटा कक्षा चलेका छन् ।

दोस्रो रुचिको विधामा आर्टस छ । यसमा १३ वटा कक्षा छन् । यस्तै ब्युटिसियन एण्ड हेयर स्टायलमा १२, फेसन डिजाइन एण्ड क्लोथिङ कन्स्ट्रक्सन (फेसन डिजाइन र कपडा निर्माण) मा ११, घरमा तार र बिजुली जडान (हाउस वायरिङ एन्ड इलेक्ट्रिकल) मा नौ कक्षा सञ्चालन भइरहेको छ ।

त्यसैगरी कृषिमा छ, प्लम्बिङमा तीन, कला र मूर्तिकला (स्केचिङ एन्ड स्कप्चर) मा दुई, कार्पेन्ट्री एण्ड उड कार्भिङ (काठमा बुट्टा कुँदेर बेलबुट्टा भर्ने काम) र विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने (परम्परागत) डकर्मी कलामा एक÷एक वटा कक्षा सञ्चालन भइरहेको प्रमुख कोइरालाले जानकारी दिए । तोकिएका विधामध्ये धेरै विधामा कक्षा चलाउने स्कुल बालाजुमा रहेको तरुण माध्यमिक विद्यालय हो । यस विद्यालयले मोबाइल एण्ड इलेक्ट्रोनिक्समा दुई, कलिनरी आर्ट्स र एग्रिकल्चर एन्ड अर्वन फार्मिङमा एक÷एक वटा कक्षा चलाएको छ ।

तीन विधामा तालिम चलाउने चार विद्यालय छन् । त्रिपुरेश्वरमा रहेको विश्व निकेतन मावि, महाराजगञ्जमा रहेको शिवपुरी मावि, बानेश्वरमा रहेको रत्नराज्य मावि र बाफलमा रहेको ज्ञानोदय माविले तीन÷तीन विधामा कार्यक्रम सञ्चालन गरिरहेका छन् । दुई विधामा कार्यक्रम चलाउने विद्यालय सङ्ख्या १३ र एक मात्र विधामा कार्यक्रम चलाउने विद्यालय ३८ रहेका छन् । कामपाले आफ्नो क्षेत्रभित्र रहेका ५६ माध्यमिक तहका सामुदायिक विद्यालयमा ९० घण्टाको शिक्षामा सीप कार्यक्रम सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ९ : ५३ बजे