सभामुखसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट



काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले आज शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारमा भएको भेटमा उनीहरुबीच नेपाल र फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापारलगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटमा सभामुख घिमिरेले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष भएको स्मरण गर्दै दुई देशबीच जनस्तरको सम्बन्ध रहेको उल्लेख गरे । “हामीबीच सरकार–सरकारमात्र होइन, जनस्तरमा रहेको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिँदै आएको छ”, उनले भने ।

सभामुख घिमिरेले फ्रान्सेली क्रान्तिले ल्याएको परिवर्तन नेपालका लागि प्रेरणादायी रहेको बताए । “फ्रान्सेली क्रान्तिको आधारभूत मान्यता स्वतन्त्रता, समानता र भ्रातृत्व नेपाली राजनीतिक आन्दोलनमा प्रेरणाको स्रोतको रुपमा रहेका छन्”, उनले भने ।

सभामुख घिमिरेले नेपाल र फ्रान्स संयुक्त राष्ट्रसङ्घलगायतका साझा मञ्चमा एक साथ रहेको स्मरण गर्दै लोकतन्त्रको सुदृढीकरण र सवलीकरणमा अनुभव आदान प्रदान भइरहने विश्वास व्यक्त गरे । उनले कोभिड–१९ महामारीमा फ्रान्सबाट सहयोगको उच्च सराहना गरे ।

राजदूत गिल्स बोरबाओले नेपालले पनि फ्रान्सले जस्तै द्वन्द्वलाई लोकतान्त्रिक विधिबाट हल गर्दै विकासलाई अगाडि बढाएको बढाएकोमा खुसी व्यक्त गरे । उनले आगामी वर्षदेखि आफ्नो मुलुकबाट कोभिड अगाडिकै अवस्थामा पर्यटन आगमन वृद्धि हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ९ : ०३ बजे