नेपालगञ्ज । बाँकेमा गुणस्तरीय महको ब्रान्डिङका लागि ‘कम हनी’ कार्यक्रम सुरु हुन लागेको छ । कृषि ज्ञानकेन्द्र बाँकेका प्रमुख सकिल अहमदले साउनदेखि त्यस्तो मह उत्पादनको तयारी भएको जानकारी दिँदै उपभोक्ताको मागअनुसार किसान लागिरहेको बताए ।
सो महको चाकाको साना–साना टुक्रा बनाएर त्यसलाई बट्टामा प्याक गरेर बेच्न सकिने विधि भएको उनले जानकारी दिए । “त्यस्तो मह गुणस्तरीय हुने र त्यसबाट चुसेर खाने भएकाले उपभोक्ताले आनन्द लिन सक्छन्”, कृषि ज्ञानकेन्द्रका प्रमुख अहमदले भने ।
केही वर्षदेखि बाँके मह उत्पादनमा आत्मनिर्भर हुन लागेको उल्लेख गर्दै अहमदले मौरीको वंश सुधारलगायतका कार्यक्रममार्फत रानो जातको मौरी उत्पादन भएको बताए । “झापाबाट केही रानो प्रजातिका मौरी ल्याएर जिल्लामा करिब पाँच सय रानो प्रजातिका मौरी उत्पादन गरेका छौँ”, उनले भने । कृषि ज्ञानकेन्द्र बाँकेले व्यावसायिक मौरीपालनका लागि किसानलाई घार निर्माणमा ५० प्रतिशत अनुदान र ढुवानीमा छुट दिएको छ ।
मह खपत भएर बाहिर गएको र केही मह थन्केको अवस्थामा रहेकाले यसैलाई आधार मानेर मह उत्पादनमा बाँके आत्मनिर्भर भएको उल्लेख गर्दै प्रमुख अहमदले ‘कम हनी’ कार्यक्रम जिल्लाका लागि नयाँ भएको बताए ।
कोहलपुर–११ मा रहेको सञ्जीवनी मौरी फार्मका सञ्चालक लीलबहादुर रानाले महको बजार निश्चित नभएको उल्लेख गर्दै बजारको व्यवस्थापन आवश्यक भएको बताए । “उत्पादित महले बजार नपाउँदा उत्पादन बढाउन सकिएको छैन”, उनले भने ।
बाँकेमा करिब दुई सय किसानले व्यावसायिकरूपमा मह उत्पादन गर्दै आएका छन् । जिल्लामा पालिएका मौरी चराउन किसान बर्दिया र सुर्खेत जाने गर्छन् । बाँकेमा अत्यधिक गर्मी भएका कारण रुखको छहारीमा मौरी चराउने कार्य भइरहेको बताइएको छ । कोहलपुर नगरपालिकामा सबैभन्दा बढी किसानले महको व्यावसायिक उत्पादन गरेका छन् । उक्त नगरपालिकामा सहकारीमार्फत स्रोत केन्द्र स्थापना गरेर प्रशोधन गरी मह उत्पादन भइरहेको स्थानीयवासी बताउँछन् ।
जिल्लामा करिब ४५ मेट्रिक टन मह उत्पादन हुने गरेको छ । उत्पादित मह आन्तरिक बजारलगायतका बाहिर जिल्लाका बजारमा समेत निर्यात भएको मह उत्पादन गरेका किसानले बताएका छन् । “किसानले उत्पादन गरेको महले आत्मनिर्भर मात्रै बनाएको छैन, अन्य जिल्लामा पनि निर्यात गरिरहेको छ”, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख अहमदले भने ।
किसानले बजारमा गुणस्तरहीन मह रोक्नु चुनौतीपर्ण रहेको बताउँदै मह उत्पादकले नक्कली महविरुद्ध आफूहरूले थालेको अभियानमा प्रहरीले सघाएको उल्लेख गरेका छन् । जिल्लामा रैथाने उत्पादनको प्रवर्द्धन, संरक्षणमा सक्रिय अगुवा किसान पुरमल बस्नेतले मह जिल्लाको मागभन्दा बढी उत्पादन भएको उल्लेख गर्दै रैथाने उत्पादनको संरक्षण गर्नुपर्ने बताए ।
उनले त्यसको संरक्षण गर्न अनुसन्धानमा जोड दिँदै हाइब्रिड जातको मौरी प्रयोग नगर्न सुझाव दिए । बरु रैथाने उत्पादनलाई उन्नत बनाउनतर्फ लाग्नुपर्ने उनको भनाइ थियो । विसं २०७२ देखि नै मह उत्पादन भएको जिल्लामा कोहलपुरबाहेक खजुरा र डुडुवामा समेत मह उत्पादन हुन लागेको बताइएको छ ।





प्रतिक्रिया