काठमाडौँ । भन्सार विभागले बिना जाँच करिब एक सय केजी सुन बाहिरिएपछि एक छानबिन समिति गठन गरेको छ । भन्सार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।
उक्त समितिलाई छानबिन गरी पाँच दिनभित्र आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । करिब एक सय केजी सुन भन्सार विभागको कार्यक्षेत्रबाट बाहिरिएपछि विभागका महानिर्देशक शोभाकान्त पौडेलले आज छानबिन समिति गठन गरेका हुन् ।
“विभागका कर्मचारीले आवश्यक चेक जाँच गरे पनि कहिलेकाँही प्राविधिक त्रुटीका कारण यस्तो अवस्था देखिनसक्ने भएकाले छानबिन समिति गठन गरिएको हो”, सूचना अधिकारी खड्काले भने ।
राजस्व अनुसन्धान विभागले बुधबार सिनामङ्गलबाट करिब एक सय किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा हालसम्म छ जना पक्राउ परिसकेका छन् ।
राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले मङ्गलबार राति सुन बरामद गरिएको र उक्त सुन भन्सार विभागमार्फत सुरक्षित भण्डारणका लागि नेपाल राष्ट्र बैंक पठाइएको जानकारी दिए । उनले सुन बाहिर ल्याउन प्रयोग गरिएको ट्याक्सी र त्यसका चालकलगायतलाई प्रक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए ।
सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । “तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ”, उनले भने ।
एयरपोर्ट भन्सार गेटबाट सुन बोकेको बा. २ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार साँझ ६ बजे नियन्त्रणमा लिइएको थियो ।
सुन ओसारपसारमा संलग्न आरोपमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ-३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई नियन्त्रणमा पक्राउ गरिएको छ । अन्य २ जनाको नाम खुलेको छैन ।





प्रतिक्रिया