फ्रान्सः प्रदर्शन चौथो दिन पनि जारी, एक हजार भन्दा बढी पक्राउ



पेरिस । फ्रान्सका सडकमा एक किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेको घटनालाई लिएर तनाव बढेपछि प्रदर्शनकारीले ठाउ ठाउमा आगो बालेर आवागमनमाअवरोध खडा गर्नुका साथै प्रहरीमाथि आक्रमणसमेत गरेका छन् ।

सिएनएनका अनुसार हिंसाको चौथो दिन पनि सरकारले शान्ति सुव्यवस्था कायम गर्न संघर्ष गरिरहेको छ । अहिलेसम्म प्रहरीले करिब एक हजार जनालाई पक्राउ गरेको छ ।

फ्रान्सको गृह मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ९९४ जनालाई हिरासतमा लिइएको छ । सार्वजनिक सडकमा दुई हजार ५६० स्थानमा आगजनी गरिएको, एक हजार ३५० कार जलेको र २३४ वटा भवनमा क्षति वा आगलागीका घटना भएको बताइएको छ ।

शुक्रबार रातिसम्म ७९ जना प्रहरी घाइते भएका छन् भने ५८ प्रहरी स्टेसनमा आक्रमण भएका छन् ।

बिएफएमटिभीका अनुसार मार्सिलेको पुरानो बन्दरगाहमा शुक्रबार साँझ विस्फोट भएको थियो तर कुनै मानवीय क्षति भने भएको थिएन ।

पेरिसको उपनगरीय शहर नान्टेरेमा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा रोकिएपछि नाहेल भनिने १७ वर्षीय किशोरको मृत्यु भएपछि यो घटना भएको हो ।

उनलाई गोली हानेको आरोप लागेका अधिकारीलाई जेल लगिएको थियो । नाहेलको अन्त्येष्टि शनिबार गरिएको छ ।

जारी हिंसाबीच म्याक्रोँको जर्मनीको भ्रमण स्थगित
एक किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेपछि फ्रान्समा चर्किएको विरोध प्रदर्शनपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आफ्नो जर्मनीको लागि तय भएको भ्रमण स्थगित गर्ने निर्णय गरेका छन् ।

जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमियरका प्रवक्ताले राष्ट्रपति म्याक्रोँले जर्मनीको राजकीय भ्रमण अर्को मितिमा सार्न आग्रह गरेको पुष्टि गरेका छन् ।

स्टेनमियरको कार्यालयका अनुसार म्याक्रोँले शनिबार जर्मन समकक्षीसँग टेलिफोन वार्ताका क्रममा आफ्नो भ्रमण स्थगन गर्न आग्रह गरेका हुन् ।

स्टेनमियरले भने, “जर्मनी भ्रमण रद्द गर्नुपरेकोमा दुःखी छ साथै छिमेकी देशको स्थितिलाई ध्यानमा राख्दै यस बिषयप्रति पूर्ण समझदार पनि छ ।” जर्मनीका राष्ट्रपतिको कार्यालयले जतिसक्दो चाँडो हुनेगरि भ्रमणको मिति तय गरिने जनाएको छ ।

म्याक्रोँ आइतबार जर्मनी पुग्ने र सोमबार लुडविग्सबर्ग, बर्लिन र ड्रेसडेन शहरको भ्रमण गर्ने कार्यक्रम थियो ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ९ : ३४ बजे