रुसी पत्रकारमाथि चेचन्यामा साङ्घातिक आक्रमण



मस्को । खोज पत्रकारकारिताका निम्ति ख्याति कमाएका रूसका एक जना पत्रकारमाथि चेचन्यामा साङ्घातिक आक्रमण भएको छ । चेचन्या भ्रमणमा रहेका उनीमाथि सशस्त्र आक्रमणकारीहरूले नराम्ररी कुटपिट गरेपछि अस्पताल भर्ना हुनुपरेको मानव अधिकार समूह मेमोरियलले जनाएको छ ।

“एलेना मिलाशिनाको औंला भाँचिएको छ र उनी बेलाबेलामा बेहोस हुन्छिन् । उनको शरीरभरि चोट लागेको छ । उनका उपकरण खोसेर र तोडफोड गरिएको छ ” समूहले सामाजिक सञ्जालमा भनेको छ । मिलासिना र वकिल अलेक्जेन्डर नेमोभ एयरपोर्टबाट आफ्नो गन्तव्यतर्फ गइरहेका बेला आक्रमण भएको हो ।

मिलाशिना काम गर्ने रूसको शीर्ष स्वतन्त्र प्रकाशन नोभाया गजेटाले घटनाको पुष्टि गर्दै उनी र वकिल नेमोभ चेचन राजधानी ग्रोज्नीको अस्पतालमा रहेका बताएको छ ।

नोभाया गजेटाले चेचेन शक्तिशाली रमजान कादिरोभको आलोचना गर्ने तीन जना निर्वासितकी आमा जरेमा मुसाइभाको सजायको सुनुवाइमा भाग लिन उनी ग्रोज्नी गएको जनाएको छ ।

रुसको प्रसिद्ध समाचारपत्र नोभाया गजेटामा मिलाशिनाले चेचन्यामा भएका मानवअधिकार उल्लङ्घनका घटनाबारे वर्षौंदेखि समाचार एवम् टिप्पणी छाप्दै आएकी थिइन् । उनलाई चेचेन नेतृत्वबाट ज्यान मार्ने धम्की पनि आएको थियो ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  १० : ०५ बजे