फ्रान्सको राष्ट्रिय दिवसका विशेष अतिथि प्रधानमन्त्री मोदी



पेरिस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही असार २९ गते फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा सहभागी हुने भएका छन् ।

समारोहमा प्रधानमन्त्री मोदीले विशेष अतिथिका रूपमा भागलिने पेरिसस्थित भारतीय राजदूतावासले जनाएको छ । भारतका तीनवटा राफेल लडाकु विमान पनि सोही अवसरमा आयोजना हुने सैन्य परेडमा सहभागी हुने छन् ।

बास्टिल डेका अवसरमा पेरिसको च्याम्प्स एलिसेसमा आयोजना हुने फ्लाइपास्टमा भाग लिन तीन वटा विमान पनि पेरिस आउने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राफेल लडाकु विमान अन्य फ्रान्सेली विमानसँगै परेडमा उड्नेछन् । यसअघि एङ्ग्लो–फ्रान्सेली जगुआर लडाकु विमान परेडमा सामेल भएका थिए ।

प्रधानमन्त्री मोदीको यो भ्रमण फ्रान्स र भारतबीचको रणनीतिक साझेदारीको २५औँ वार्षिकोत्सवका बेला हुन लागेको हो । भारतले अन्तिम पटक सन् २००९ मा परेडमा भाग लिएको थियो । त्यसबेला प्रधानमन्त्री मनमोहन सिंह भारतीय सैन्य दलसँगै सहभागी भएका थिए।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ११ : ४० बजे