मुख्यमन्त्रीमा थापा नियुक्त



मोरङ । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापालाई आज नियुक्त गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले नवनियुक्त मुख्यमन्त्री थापालाई बधाई तथा शुभकामना पनि दिएका छन् भने भोलि बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको छ ।

गठबन्धनले प्रदेश सरकार चार वर्ष सञ्चालन गर्छ
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले नयाँ सरकार प्रदेशमा चार वर्ष सञ्चालन हुने बताएका छन् । मुख्यमन्त्री पदको नियुक्ति पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नयाँ सरकार आलोपालो नभएर गठबन्धनको नेतृत्वमा चार वर्ष सञ्चालन हुने स्पष्ट पारे ।

मुख्यमन्त्री थापाले प्रदेशको संरचनाअनुसार गठबन्धन दलको सदस्यको सहभागितामा मन्त्रिमण्डल गठन गर्ने बताए । उनले प्रदेशको नामकरण वार्ताकोको माध्यमबाट निकाश दिने विचार राखे ।

मुख्यमन्त्री थापाले सभामुखले प्रदेश सदस्यको हैसियतमा मुख्यमन्त्रीको पदको दाबीमा हस्ताक्षर गरेको र उनले राजीनामा नदिने स्पष्ट पारे । उनले प्रदेशको जनताको विकास, समृद्धि र सुशासनको चाहनालाई पूरा गर्ने उद्देश्य अनुरुप सरकारले काय गर्ने बताए ।

नवनियुक्त मुख्यमन्त्री थापाको जीवनी
विसं २०३२ ताका काठमाडौँको शङ्करदेव क्याम्पसबाट नेपाल विद्यार्थी सङ्घको एकाइबाट राजनीतिक जीवन सुरु गरेका थापा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कोशी प्रदेशको सभापति पदमा निर्वाचित भएका थिए ।

विसं २०३६ को जनमत सङ्ग्रहमा निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध बहुदलीय व्यवस्था स्थापनाका लागि प्रचार अभियानमा सक्रिय थापा त्यसताका बिपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेका थिए ।

अर्जुनधारा नगरपालिका–७ निवासी बुबा हेमबहादुर थापा र आमा डम्बरकुमारी थापाको एक्लो छोराका रूपमा विसं २०१४ मङ्सिर १५ गते जन्मिएका नवनियुक्त मुख्यमन्त्री थापाले २०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

विद्यार्थी जीवनबाट पार्टीको सङ्गठनतर्फ प्रवेश गर्ने क्रममा उनले नेपाली काङ्ग्रेस अर्जुनधारा गाउँ विकास समितिको सचिव÷सभापतिको एक–एक कार्यकाल जिम्मेवारी सम्हालेका थिए । त्यसपछि झापा निर्वाचन क्षेत्र नं २ को क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थापाले दुईपटक प्रतिनिधिसभा सदस्यको टिकट पाए । हरेक चुनावमा नेपाली कांगे्रसको भारी मत बढाउन सफल रहे पनि जितको परिणाम भने हात पर्न सकेन।

पाँच ‘व’ को नीतिअन्तर्गत विचारमा कांग्रेस, व्यवहारमा कांग्रेस, व्यवसायमा कांगे्रस, विकासमा कांग्रेस र विपद्मा कांग्रेसको नीतिलाई साथसाथै लगिएन भने राजनीति जटिल र कठिन हुने ठम्याइसहित थापाकै अगुवाइमा जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएका थिए ।

साथमा नेपाली कांगे्रसको सिद्धान्त, नीति, विचार, कार्यक्रम, इतिहास र विधानका विषयमा समेत थापाकै अगुवाइमा प्रशिक्षण कार्यक्रम चलाइए । विसं २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले शाही ‘कू’मार्फत सम्पूर्ण सत्ता हातमा लिएपछि प्रजातन्त्र अपहरण गर्ने राजाको कार्यको कडारूपमा विरोध जनाउँदै आन्दोलन सञ्चालन गर्दा उनलाई तत्कालीन शाही नेपाली सेनाको मातहतमा रहेको युनिफाइड कमाण्डले पक्राउ गरेर झापा चारआलीस्थित सैनिक ब्यारेकको बङ्करमा कठोर र अमानवीय क्रूर यातना दिएर सैन्य हिरासतमा राखेको थियो ।

वाणिज्य शास्त्रमा स्नातक गरेका थापाले एक स्पष्टवादी, निडर, कार्यकर्ताको पीरमर्का बुझ्न र सहयोग गर्न सक्ने, कार्यकर्तालाई माया र न्याय गर्न सक्ने विवेकशील नेताको छवि निर्माण गरेका छन् ।

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला कम्युनिष्टको लालकिल्लामा कार्यकर्ताको सुरक्षा गर्दै पार्टी सङ्गठनलाई विस्तार गर्न थापाले कठोर मेहनत गरेका थिए ।

प्रजातान्त्रिक आन्दोलन र सङ्गठन विस्तारका क्रममा सङ्घर्षको मैदानबाट खारिएर आफूलाई राजनीतिमा अब्बल साबित गरेका थापा राजनीतिलाई राष्ट्रहित र जनताको सेवामा समर्पित गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहँदै आएका छन् ।

कोशी प्रदेशसभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि उनी प्रदेशसभाको छैठौँ बैठकसम्म र तेस्रो अधिवेशनको पहिलो बैठकसम्म आफ्ना धारणा, विचार र सिद्धान्तमा अडिग रही अत्यन्त प्रभावशाली ढङ्गले सदनमा प्रस्तुत भएका थिए ।

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ९ : ०३ बजे