ललितानिवास जग्गा प्रकरण

चार पूर्वसचिव पक्राउको सूचीमा, अख्तियारका पूर्वप्रमुख आयुक्त बस्न्यात फरार



काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले बन्द गराएको ललिता निवासको जग्गा हिनामिना र भ्रष्टाचारको मुद्दालाई प्रचण्ड सरकारले अघि बढाएको छ । त्यसैक्रममा चार पूर्वसहितसहित ४०६ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । तीमध्ये एक पूर्वसहसचिव सुधीर शाह पक्राउ परिसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भागेका छन् ।

ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा किर्ते गर्ने कार्य शेरबहादुर देउवा, माधवकुमार नेपाल र बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला अघि बढेपछि उनीहरुमाथि पनि छानविन हुनुपर्ने माग उठिरहेको छ । ११२ रोपनी ४ आना एक पैसा जग्गा हिनामिना प्रकरणमा चार वटा मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । ११२ रोपनी ४ आना १ पैसा जग्गा हिनामिना भएको मुद्दा नम्बर २४ मा २०९ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

यसैगरी पशुपति टिकिन्छा गुठीको नाममा दर्ता भएको मुद्दा नम्बर २५ मा ११० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । टिकिन्छा गुठीको नाममा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको छ ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  १० : ५५ बजे